विष्णु मगर । देवघाट, असार २
देवघाट गाउँपालिका–५ स्थित मधुवन सामुदायिक वन उपभोक्ता संस्थाको आयोजनामा सन्चालन गरिएको चप्पल बनाउने १५ दिने तालिम सोमबार सम्पन्न भएको छ । गत जेठ १८ गतेदेखि सञ्चालन भएको उक्त तालिममा छ वटा समूहमा ३६ जना महिला प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । तालिममा प्रशिक्षक खगीसरा नेपालीले सहभागीहरूलाई चप्पल निर्माणसम्बन्धी व्यावहारिक सीप प्रदान गरेकी थिइन् ।



तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले पछिल्लो समय देवघाटमा विभिन्न सीपमूलक तालिमहरू सञ्चालन भए पनि धेरैले सिकेको सीपलाई व्यवहारमा उतार्न नसकेको बताए । उनले उद्योग तथा व्यवसायसम्बन्धी तालिममा हालसम्म करिब ५० लाख रुपैयाँ खर्च भए पनि अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको उल्लेख गर्दै यस तालिमबाट सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्न सके गाउँपालिकाले आवश्यक अनुदान तथा सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

विशिष्ट अतिथि सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले तालिम लिएर मात्र नहुने, सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सके मात्र वास्तविक सफलता हासिल हुने बताए । महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्न सके परिवार र समाज दुवै सशक्त बन्ने न्यौपानेको भनाई थियो ।
मधुवन सामुदायिक वन समुहका अध्यक्ष डिल्लीराम गिरीले सामुदायिक वनको उद्देश्य केवल वन संरक्षणमा सीमित नभई वनको आम्दानीलाई समुदायको आर्थिक तथा सामाजिक विकासमा लगानी गर्नु रहेको बताए । उनले वनको कुल आम्दानीको ३० प्रतिशत रकम सामाजिक विकासका क्षेत्रमा खर्च गरिएको जानकारी दिँदै १० प्रतिशत महिला सशक्तीकरण, १० प्रतिशत गरिबी निवारण तथा १० प्रतिशत महिला उद्यमशीलता विकासमा लगानी गरिएको उल्लेख गरे ।
‘विकासका नाममा भाषणभन्दा व्यवहारमा देखिने काम महत्वपूर्ण हुन्छ,’ अध्यक्ष गिरीले भने ‘महिलालाई आत्मनिर्भर बनाउने, गरिब परिवारलाई आयआर्जनसँग जोड्ने र उद्यमशीलताको वातावरण सिर्जना गर्ने कार्य नै सामुदायिक वनको वास्तविक सामाजिक उत्तरदायित्व हो ।’ सीपबिना समृद्धिको सपना अधुरो रहने उल्लेख गर्दै तालिमले महिलाहरूलाई रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने क्षमतामा पु¥याउने विश्वास व्यक्त गर्दै उनले तालिम पश्चात व्यक्तिगत रूपमा व्यवसाय सञ्चालन गर्न नसक्ने सहभागीहरूले समूह गठन गरी चप्पल उत्पादन उद्योग दर्ता गरे गाउँपालिका र सामुदायिक वन दुवैतर्फबाट आवश्यक अनुदान तथा सहयोग उपलब्ध गराउन पहल गरिने जानकारी पनि दिए ।
कार्यक्रममा मधुवन सामुदायिक वनकी उपाध्यक्ष कमला देवकोटाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने समुहका सचिव गोपी अछामीले कार्यक्रम सञ्चालन गरेका थिए ।

वन समुहका अध्यक्ष गिरीको अध्यक्षतामा आयोजित तालिम समापन कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघ देवघाटका अध्यक्ष प्रविण कार्की, देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त, रानी सामुदायिक वन समुहका अध्यक्ष टुकनाथ अधिकारी, कालिका सामुदायिक वनका अध्यक्ष अमरबहादुर फेवाली, चक्रवर्ती सामुदायिक वनका उपाध्यक्ष खेमबहादुर रानामगर लगायत विभिन्न सामुदायिक वनका पदाधिकारी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।












