सफल शर्मा । चितवन, असार ६
प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आइतबारबाट चितवनको भरतपुरमा सुरु हुने भएको छ । भरतपुर महानगरपालिका–१० स्थित गेष्ट हाउस चौरमा हुने महाधिवेशनको रास्वपाका सभापती रवि लामिछाने र सो पार्टीका बरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले घण्टि बजाएर उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशको बन्दसत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ ।




महाधिवेशनको सबै तयारी पुरा भएको रास्वपाले जनाएको छ । उद्घाटन सत्रको लागि करिब ३० हजार जना अट्ने विशाल मन्च तयार गरिएको । घाम, पानी र हावा छेक्ने विशेष प्रविधिको दर्शक दिर्घा तयार गरिएको छ । महाधिवेशनको तयारीकोलागि भरतपुर निला झण्डाहरुले सिंगारिएको छ भने ठाउँ ठाउँमा स्वागतद्वार निर्माण गरिएको छ । महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आइतबार भरतपुर आउने छन् प्राय सबै नेताहरु शुक्रबार नै भरतपुर आईसकेका छन् ।

रास्वपाको महाधिवेशन प्रतिनिधि चार हजार २ सय भन्दा बढी हुने भएको छ । प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २ सय १० प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ । सचिवालयका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्याङ्कमा तीन हजार ८ सय १० प्रतिनिधि देखिएको छ । यसमा २५ देशका प्रभास सम्पर्क विभागबाट २ सय हाराहारी प्रतिनिधि थप हुने उनले जानकारी दिए ।
विधानतः सभापतिले मनोनय गर्ने संख्या २ सय रहेको छ । यसका अतिरिक्त समूहगत रुपमा पार्टी प्रवेश गर्नेबाट अरु केही थप हुनसक्ने श्रेष्ठले बताए । रास्वपाको शुक्रबार भरतपुर बसेको केन्द्रीय समितिको बैठकमा सभापतिले विधानतः मनोनयन गर्न पाउने प्रतिनिधिको नाम पेस भएकोछ । प्रारम्भिक तथ्याङ्क अनुसार कोशी प्रदेशबाट प्रतिनिधिको संख्या ५ सय २० रहेको छ । मधेसबाट ६ सय ३०, बागमतीबाट ७ सय ९०, लुम्बिनीबाट ४ सय ९०, गण्डकीबाट ४ सय ७०, कर्णालीबाट ३ सय ६० र सुदूरपश्चिमबाट ५ सय ५० जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने उनले बताए ।

महाधिवेशन प्रतिनिधिका रुपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना, प्रदेश समितिका सबै सदस्यहरु रहने व्यवस्था छ । यसैगरी, प्रदेशको विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी प्रतिनिधि हुने व्यवस्था छ । सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय समितिका सबै, केन्द्रमा रहेको ३८ वटा विभागका ११ जनाका दरले सदस्य र केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ११ जनाका दरले प्रतिनिधि हुनेछन् ।

प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि हुनेछन् । प्रदेश सम्पर्क विभागबाट तीन जनाका दरले र जिल्ला सम्पर्क विभागबाट एक–एक जनाका दरले प्रतिनिधि हुने व्यवस्था छ । गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाकातर्फबाट उपविजेता र समानुपातिक सूचीमा रहेका प्रतिनिधि हुनेछन् । यस्तै २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उपविजेता र समानुपातिक बन्दसूचीमा रही पार्टीमा सक्रिय भएका पनि प्रतिनिधि रहनेछन् । केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्यसमेत प्रतिनिधि हुने व्यवस्था छ ।
यसैविच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट कहिल्यै विमुख नहुने बताएका छन् । शनिबार चितवनको भरतपुरमा बसेको रास्वपा केन्द्रीय समितिको अन्तिम बैठकको सुरुवात गर्दै सभापति लामिछानेले लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताए । उनले आन्तरिक लोकतन्त्रमा पनि जोड दिए ।

‘पार्टीको आन्तरिक लोकतन्त्र हाम्रा लागि असाध्यै महत्वपूर्ण कुरा हो,’ बैठकलाई सम्बोधन गर्दै सभापती लामिछानेले भने, ‘आन्तरिक लोकतन्त्रलाई मजबुद बनाउनका निम्ति संस्थापक सभापतिका रुपमा कति भूमिका निर्वाह गर्न सके सकिन, यहाँहरूले मूल्यांकन गर्नु पर्ने विषय होला ।’
उनले आन्तरिक लोकतन्त्र र निष्ठामा जोड दिए । यसमा आफू राजनीतिक जीवनभर खरो उत्रिने प्रतिबद्धता जनाए । ‘मेरा लागि निष्ठा र आन्तरिक लोकतन्त्र त्यो कुनै कम्प्रोमाइज गर्ने विषय होइन । मैले यसमा कहिले पनि कम्प्रोमाइज नगर्ने प्रतिबद्धता प्रकट गरेको छु,’ लामिछानेले भने, ‘जतिसक्दो खरो उत्रिने प्रयास आफ्नो राजनीतिक जीवनभरी गरिरहने गर्नेछु ।’
सम्बोधनका क्रममा सभापति लामिछानेले देशमा अहिलेसम्म भएका परिवर्तनको स्मरण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र गर्व गर्ने विषय भएको बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्र, विभिन्न परिवर्तन, देशको संविधान, यो मुलुकलाई यहाँसम्म ल्याइपु¥याउँदा भएका त्याग, बलिदान, संघर्षहरूको सम्मानको जगमा हामी उभिएका छौँ र हामीलाई यसमा गर्व छ,’ लामिछानेले भने ।

उनले अहिलेसम्म भएका बलिदानीकै कारण आफूहरू यो अवस्थामा आइपुगेको जिकिर गरे । ‘हामी गर्वका साथ यो परिवर्तनको संघारमा उभिएका छौँ । हिजोको त्याग र बलिदानीको उचाइँको काँधमा उभिएको हुनाले, बस्न पाएको हुनाले नै हामी यति फराकिलो दृश्य देख्न पाइरहेका छौँ,’ उनले भने ।











