देवघाट । साउन ११
आज साउन महिनाको दोश्रो सोमबार । तनहुँ, चितवन र नवलपुरको संगगममा रहेको देवघाटधाममा बोलबम स्नानको लागि सयौं भक्तजन आएका छन् । यस वर्ष साउनको पहिलो र दोश्रो सोमवार विगतको जस्तो अपेक्षाकृत भक्तजन देवघाट आएनन् । निरन्तर पानी परिरहेको कारण पनि पहिलो सोमबार विगतको जस्तो उल्लेख्य संख्यामा भक्तजन नआएको अनुमान गरिएको छ ।




टाढा टाढाबाट आएका भक्तजनले देवघाटको त्रिशुली र कालीगण्डकीको संगममा स्नान गरि शिवालयहरुको दर्शन गरेका थिए । देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रुपमा मनाइने बोलबम मेलामा देश बिदेशबाट भक्तजन आउने गर्छन् । साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले बताए । साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ ।

साउनमा त्रिशुली र कालिगन्डकी नदीको बहाव बढ्ने हुँदा मेलामा स्नान गर्न आउने भक्तजनको सुरक्षाको लागि तनहुँ र चितवन तर्फ सुरक्षा सतर्कता बढाइएको इलाका प्रहरी कार्यालय देवघाटले जनाएको छ । नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाको लागि डोरी सहितको डुङ्गाको व्यवस्थापन गरिएको छ ।
धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिकोणले देवघाटधाममा बोलबमको महत्व अत्यन्तै ठूलो छ । विशेषगरी साउन महिनामा देवघाटमा बोलबमको रौनक छुट्टै हुने गर्दछ । देवघाटधाम कालीगण्डकी र त्रिशूली नदीको पवित्र संगम (त्रिवेणी) हो ।

बोलबमका श्रद्धालुहरूका लागि नदीको पानी शुद्ध र पवित्र मानिन्छ । बोलबमको मुख्य विधिको रूपमा भक्तजनहरूले देवघाटको त्रिवेणी संगमबाट शुद्ध जल आफ्नो काँवर (बाँसको खलाँती) मा भर्छन् । उक्त जललाई खाली खुट्टा हिँडेर नजिकका शिवालयहरूमा पु¥याई भगवान शिवलाई अर्पण गरिन्छ ।
संगमको जल शिवलाई चढाउनाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउन महिना र त्यसमा पनि सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ । पौराणिक मान्यता अनुसार, समुन्द्र मन्थन गर्दा निस्किएको ‘हलाहल’ विषको डाह शान्त पार्न शिवले जल र गंगाजीलाई शिरमा धारण गर्नुभएको थियो । त्यसैले साउनको सोमबार देवघाटको चिसो र पवित्र जल शिवलाई चढाउन बोलबमका भक्तहरूको ठूलो घुइँचो लाग्ने गर्दछ ।
बहुमुल्य गहना लगाएर बोलवम मेलामा नआउन इप्रका देवघाटको अनुरोध

यसैविच इलाका प्रहरी कार्यालय देवघाटले बोलवम स्नानको लागि देवघाट आउने भक्तजनहरुलाई भिडभाड नगर्न तथा बहुमुल्य गहना लगाएर नआउन अनुरोध गरेको छ । देवघाटधाम दर्शनका लागि आउने तीर्थयात्रीलाई भीडभाडका बेला बहुमूल्य गहना साथमा नल्याउन तथा नगद सुरक्षित राख्न ईलाका प्रहरी कार्यालय देवघाटका प्रमुख प्रहरी नायव निरीक्षक तीर्थराज पौडेलले आग्रह गरेका छन् ।
उनले मेला तथा भीडभाड हुने स्थानमा चोरी तथा अप्रिय घटना हुन सक्ने भएकाले सकेसम्म बहुमूल्य गहना नलगाई यात्रा गर्न र आफ्ना सामानप्रति विशेष सतर्क रहन तीर्थयात्रीलाई सचेत गराएका छन् । भीडभाडको फाइदा उठाउँदै केही व्यक्तिहरू चोरी तथा अन्य अप्रिय घटनामा संलग्न हुन सक्ने भएकाले तीर्थयात्रीलाई विशेष सतर्कता अपनाउन उनले आग्रह गरेका छन् । प्रनानि पौडेलका अनुसार घटना घटेपछि पछुताउनुभन्दा घटना हुनै नदिन सावधानी अपनाउनु सबैभन्दा प्रभावकारी उपाय हो ।
प्रनानी पौडेलले मेला तथा धार्मिक यात्राका क्रममा आफ्ना झोला, मोबाइल, पर्स र अन्य सामानप्रति विशेष ध्यान दिन, अपरिचित व्यक्तिमाथि सहजै विश्वास नगर्न तथा कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेका छन् । ‘सुरक्षित यात्रा, सुरक्षित तीर्थयात्रा’ भन्ने सन्देशका साथ इप्रका देवघाटले सबै भक्तजनलाई सचेत, जिम्मेवार र सतर्क भएर धार्मिक यात्रामा सहभागी हुन अपिल गरेको छ ।












