देवघाटको खानेपानीमा ई–कोली भेटियो, सुरक्षित पानी प्रयोग गर्न गाउँपालिकाको आग्रह

Devghat Online

शेयर गरौ

देवघाट । भदौ १८

देवघाट गाउँपालिकाले खानेपानी परीक्षणका क्रममा पानीमा ई–कोली जीवाणु भेटिएपछि सुरक्षित खानेपानी प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । देवघाट गाउँपालिकाको समन्वय तथा प्रदेश जनस्वास्थ्य कार्यालय, दमौली, तनहुँको प्राविधिक सहयोगमा गरिएको पानी परीक्षणमा खानेपानीमा ई–कोली देखिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूलाई यथाशीघ्र खानेपानी सुरक्षाका उपाय अपनाई सुरक्षित पानी वितरणको व्यवस्था मिलाउन अनुरोध गरेको छ । पानी शुद्धीकरणका लागि पानीलाई १०० डिग्री सेल्सियसमा भकभकी उमालेर प्रयोग गर्न, २० लिटर पानीमा ३ थोपा क्लोरिन झोल प्रयोग गरी ३० मिनेटपछि मात्र उपभोग गर्न, फिल्टर गर्दा गुणस्तरीय वाटर फिल्टर प्रयोग गर्न तथा सफा प्लास्टिकको बोतलमा पानी भरेर ६ घण्टासम्म घाममा राख्ने विधि अपनाउन गाउँपालिकाले सुझाव दिएको छ ।

त्यस्तै, शुद्धीकरण गरिएको पानीलाई ढाकेर राख्न, पानी निकाल्दा सफा हात वा साधन प्रयोग गर्न र पानी भर्ने तथा खाने भाँडा नियमित रूपमा सफा गर्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युब्न खड्काले जारी गरेको सुचनामा अनुरोध गरिएको छ ।

गाउँपालिकाले खाना खान र पकाउनुअघि, दिसा–पिसाब गरेपछि, फोहोरमैला छोएपछि, बिरामीलाई भेट्नुअघि र भेटेपछि, खोक्दा–हाछ्युँ गर्दा वा नाक सफा गरेपछि तथा जनावरलाई छोएपछि साबुनपानीले हात धुन समेत अनुरोध गरेको छ । सुरक्षित खानेपानीको प्रयोग तथा वितरणमा विशेष सावधानी अपनाउन गाउँपालिकाले सबैमा अनुरोध गरेको छ ।

ई–कोली मानव तथा जनावरको आन्द्रामा प्राकृतिक रूपमा पाइने जीवाणु हो । अधिकांश ई– कोली हानिरहित हुन्छन् र पाचन प्रक्रियामा सहयोग गर्छन् । तर, यसको केही प्रकार जसले झाडापखाला, पेट दुख्ने, बान्ता, र कहिलेकाहीँ गम्भीर स्वास्थ्य समस्या समेत निम्त्याउने स्वास्थ्यका जानकार बताउँछन् । यो जीवाणु प्रायः दूषित पानी, अस्वस्थ खाना, काँचो वा राम्रोसँग नपाकेको मासु तथा फोहोर हातमार्फत सर्छ । सुरक्षित खानेपानी प्रयोग गर्ने, खाना राम्रोसँग पकाउने र हात सफा राख्ने बानी अपनाए ई–कोलीबाट हुने संक्रमणबाट बच्न सकिन्छ ।

गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीले सयौं मानिस तथा जनावरहरुको मृत शरिर बगाएर ल्याएको र त्यसमध्ये २८ वटा शव देवघाट गाउँपालिकाको त्रिशुली किनारमा भेटिएको थियो । नदी किनारमा रहेका खानेपानीको मुहानमा नदीको भेलसँगै आएका उक्त जिवाणु मिसिएपछि देवघाटको खानेपानी असुरक्षित भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ