त्रिशूली विपद्ले नदी वारपारको पूर्वाधार दशकौँ पछाडि धकेल्योः सांसद न्यौपाने

Devghat Online

शेयर गरौ

काठमाडौं । भदौ २०

तनहुँ–२ का सांसद श्रीराम न्यौपानेले त्रिशूली नदी क्षेत्रमा आएको विपद्का कारण नदी वारपार गर्ने पूर्वाधारको अवस्था करिब ४०/५० वर्ष अघिको प्रविधिमा धकेलिएको अनुभूति भएको बताएका छन् ।

विपद्प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्ने क्रममा आफूले कठिन यात्रा गर्नुपरेको उल्लेख गर्दै सांसद न्यौपानेले त्रिशूली क्षेत्रमा आएको विपद्ले यातायात तथा आवागमनका पूर्वाधारमा गम्भीर असर पु¥याएको बताए । ‘हिजो ६ घण्टाको कठिन यात्रा गर्दै साँझ ७ बजे त्रिशूली नदीपारि आएर वास बसियो। आज ट्विन पुल पार गर्दै फेरि विदुर पुगियो’ सांसद न्यौपानेले भने, ‘त्रिशूलीको विपद्ले नदी पार गर्ने पूर्वाधारको अवस्था ४०/५० वर्ष अघिको प्रविधिमा धकेलिदिएको अनुभूति भयो ।’ उनले विपद्पछि प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन अस्थायी तथा दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

सुरुङ इन्जिनियर समेत रहेका सांसद न्यौपानेले आफ्नो पदभन्दा मानवीय सेवा र व्यावसायिक धर्मलाई सर्वोपरि राखेको बताएका छन् । सुरुङमा फसेका नागरिकलाई उद्धार कार्यमा सक्रिय रहँदा पार्टीले उनलाई फिर्ता बोलाउन खोजेको वा आलोचनाका आधारमा कार्यक्षेत्र छाड्न दबाब दिएको विषयलाई लिएर गम्भीर असन्तुष्टि जनाउँदै न्यौपानेले भनेका छन्, ‘राजनीति होइन, ज्यान जोगाउन आएको हुँ, पार्टीले मलाई फिर्ता आउन भनेको निर्णय यदि सच्याएन भने म सांसद पदबाट राजीनामा दिन्छु ।’ सुरुङ निर्माणमा १३ वर्षको लामो अनुभव र १५ किलोमिटर सुरुङ खन्ने नेतृत्व गरिसकेका उनले आफू सांसदको रूपमा भन्दा पनि एक विज्ञ इन्जिनियरको रूपमा मानिसहरूको प्राण बचाउन घटनास्थलमा पुगेको स्पष्ट पारेका छन् ।

उद्धार स्थलमा हेलिकप्टर चढेर गएको विषयमा भएको आलोचना र पार्टीको पछिल्लो कार्यशैलीप्रति लक्षित गर्दै न्यौपानेले आफ्नो अडान दोहो¥याएका छन् । उनले आफूले सांसद भएबापत पाउने कुनै पनि पारिश्रमिक वा सेवा–सुविधा नलिएको र सबै जनहितमै खर्च गरिरहेको जानकारी दिँदै थपे, ‘मैले सांसद भएर कुनै तलब भत्ता लिएको छैन, सबै तनहुँको एक जनैच्छिक कोषमा जम्मा गरेको छु । यहाँको जटिल परिस्थितिमा उद्धारको बाटो पहिल्याउन मात्र हेलिकप्टर प्रयोग गर्नुपरेको हो । म फर्कँदा हेलिकप्टर चढ्दिनँ, पैदलै हिँडेर काठमाडौँ जान्छु र यदि राज्यले खर्च खोज्छ भने हेलिकप्टरको पैसा समेत आफ्नै खल्तीबाट तिर्न तयार छु ।’ उनले आफूलाई पदको लोभ नरहेको र संकटका बेला विज्ञताको प्रयोग गरेर नागरिकको ज्यान जोगाउनु नै आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

न्यौपानेले आफ्नो नेतृत्वमा सुरुङको मुख खोल्न र भित्र फसेका मानिसहरूसँग सम्पर्क स्थापित गर्न सफल भएको दाबी गर्दै प्राविधिक काममा राजनीतिक बाधा पु¥याउन नहुनेमा जोड दिएका छन् । उनले काम गर्ने विज्ञलाई निरुत्साहित गर्न खोजिएकोमा दुःख व्यक्त गर्दै भनेका छन्, ‘मैले जे प्राविधिक सल्लाह दिएको थिएँ र जुन ढंगले काम अगाडि बढाइएको थियो, त्यसै अनुसार आज सफलता मिलेको छ । यस्तो संवेदनशील अवस्थामा काम गरिरहेको मान्छेलाई फिर्ता बोलाउने पार्टीको निर्णय मलाई स्वीकार्य छैन ।’ न्यौपानेको यो अडानले अहिले रास्वपाभित्र मात्र नभई समग्र राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरेको छ भने उनले आफ्नो व्यावसायिक जिम्मेवारीलाई पदभन्दा माथि राखेर एउटा बलियो नजिर पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा