तनहुँ । भदौ २०
भोटेकोसी नदीको बाढीबाट पीडित भएकाहरुलाई राहत दिन देवघाटका टोलटोलमा राहत संकलन कार्य गरिएको छ । देवघाट गाउँपालिका राहत संकलन समिति र लायन्स क्लव देवघाटको संयोजनमा बाढी पीडितहरुलाई उपलबध गराउन राहत संकलन थालिएको हो ।



देवघाटका विभिन्न टोलबाट संकलित राहत सामाग्री बाढी प्रभावित क्षेत्र रसुवामा लगेर पीडितहरुलाई वितरण गरिने लायन्स क्लव देवघाटले जनाएको छ । यसअघि संकलित केही राहत सामाग्री शनिबार रसुवा पठाईएको क्लवका सदस्य रामहरि पुडासैनीले बताए । अव संकलित राहत सामाग्री दोश्रो चरणमा पुनः पठाईने पुडासैनीले बताए । राहत संकलनमा लायन्स क्लवका पदाधिकारी, जनप्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी छन् ।

देवघाट गाउँपालिका राहत संकलन समितिद्वारा वडा नं. ५ र लायन्स क्लवले विभिन्न टोलहरुमा टोलस्तरीय तथा व्यक्तिगत राहत संकलन गर्ने कार्यको सुरुवात गरिएको वडा नम्बर ५ का अध्यक्ष पुर्ण बहादुर कुँवरले बताए । जसमध्ये झारखानी कमलादेवी टोलबाट संकलित १४ हजार १ सय रुपैयाँ र स्वाभीमान आमा समूह, कालिमाटीबाट ३४ हजार ९१५ रुपैयाँ बराबरको नुन, चामल, तेल लगायतका अत्यावश्यक जिन्सी सहयोग प्राप्त भएको छ भने अन्य टोलका स्थानीयहरुले व्यक्तिगत रुपमा पनि अत्याधिक मात्रामा राहत उपलब्ध गराउनु भएको वडा अध्यक्ष कुँवरले बताए ।

आइतबार बिहान पिपलटार हुँदै देवघाट तर्फ रहेका टोलहरुमा राहत संकलन गर्ने कार्यको निरन्तरता दिईनेछ भने सो टोलहरुका स्थानीय तथा टोल विकास संस्थाका अध्यक्षहरुलाई आ–आफ्नो टोलको बासिन्दाहरुबाट स्वेच्छिक रुपमा प्रदान गर्नुहुने सहयोग एकमुष्ठ संकलन गरी राहत प्रदान गर्नुहुने महानुभावहरुको विवरण सहित समितिलाई हस्तान्तरण गरिदिनु हुन देवघाट गाउँपालिका राहत संकलन समितिको तर्फबाट वडा अध्यक्ष कुँवरले अनुरोध गरे ।

यस्तै रसुवाका बाढीपीडितका लागि देवघाट गाउँपालिका–५ स्थित रातामाटे सुन्दरबस्ती टोल विकास संस्थाले २२ हजार ६९५ रुपैयाँ सहयोग गरेको छ । शुक्रबार देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवर मार्फत टोल विकास संस्थाका सचिव विष्णु मगरले उक्त राहत रकम पीडितहरुकोलागि हस्तान्तरण गरेका थिए । सङ्कलित रकम एकद्वार प्रणालीमार्फत प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा पठाइने वडा अध्यक्ष कुँवरले बताए ।












