तनहुँ । मंसिर २
बन्दीपुर गाउँपालिकाले यस कार्यकालमा कुनै काम गरेन भन्नेहरूलाई बन्दीपुर हाटबजारबारे जानकारी लिन आग्रह गरेको छ । बन्दीपुर गाउँपालिकाका स्वकीय सचिव अमिर गुरुङले स्थानीय उत्पादनको बजारीकरण, किसानलाई प्रोत्साहन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले हाटबजार सञ्चालनमा ल्याइएको बताउँदै यो पनि विकासको एउटा महत्वपूर्ण पाटो भएको बताएका छन् ।
पालिकाका केही कमी–कमजोरी हुन सक्ने र सबै काम एकैपटक सोचेजस्तो सम्पन्न गर्न सम्भव नभए पनि सीमित स्रोत र साधनका बाबजुद सम्भव भएसम्मका काम गर्दै आएको उनको भनाइ छ । आगामी दिनमा बन्दीपुर हाटबजारलाई अझ विस्तार गर्दै डुम्रेमा समेत हाटबजार सञ्चालनमा ल्याउने तयारी भइरहेको गुरुङले जानकारी दिए ।
आलोचना गर्न, सुझाव दिन र कमजोरी औँल्याउन पाइने भएपनि भएका सकारात्मक काम तथा आगामी योजनालाई बेवास्ता नगर्न आग्रह गर्दै उनले विकास निर्माणका काममा सबैको साथ र रचनात्मक सहयोग आवश्यक रहेकोमा जोड दिए ।












