तनहुँ । मंसिर २
व्यास नगरपालिकाले दमौलीस्थित नगरपालिकाको कार्यालयबाटै आँखा परीक्षण तथा उपचार सेवा सुरु गरेको छ । नेपाल नेत्रज्योति सङ्घ हिमालय आँखा अस्पताल पोखरासँगको सहकार्यमा उक्त सेवा सञ्चालनमा ल्याइएको हो ।
नगर प्रमुख वैकुण्ठ न्यौपानेले मङ्गलबार एक कार्यक्रमका बीच नेत्र सहायक गोविन्द ढकाललाई आँखा उपचारसम्बन्धी उपकरण हस्तान्तरण गरेर सेवाको शुभारम्भ गरे । सो अवसरमा बोल्दै नगर प्रमुख न्यौपानेले सामान्य आँखा उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्न तथा सेवाग्राहीको समय र खर्च बचत गर्ने उद्देश्यले सेवा सुरु गरिएको बताए । उनले आगामी दिनमा विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्ने नगरपालिकाको लक्ष्य रहेको जानकारी दिए ।
कार्यक्रममा नगर उपप्रमुख इन्दिरा दरैले नगरपालिकाको कार्यालयबाटै सेवा उपलब्ध हुँदा आँखासम्बन्धी समस्या भएका सेवाग्राहीलाई ठूलो राहत पुग्ने बताउँदै आँखा स्वास्थ्यप्रति सचेतना बढाउनुपर्नेमा जोड दिइन् । प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले प्रशासनिक कामका लागि नगरपालिका आउने सेवाग्राहीले सोही स्थानबाट आँखा परीक्षण तथा उपचार गराउन सक्ने भएकाले सेवा प्रवाह थप प्रभावकारी हुने बताए ।
नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय उपाध्यक्ष प्रा.डा.दिलबहादुर क्षेत्रीले स्थानीय तहसँगको सहकार्यमा आँखा उपचार सेवा विस्तार हुनु सकारात्मक कदम भएको बताए । हिमालय आँखा अस्पताल पोखराका व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र थापामगरका अनुसार उपचार केन्द्रमा एक जना नेत्र सहायकको व्यवस्था गरिएको छ । केन्द्रबाट सामान्य आँखा परीक्षण, उपचार तथा सामान्य शल्यक्रियाको सुविधा उपलब्ध हुनेछ भने आवश्यकताअनुसार विशेषज्ञ चिकित्सकहरूसमेत आएर सेवा प्रदान गर्नेछन् ।
शुभारम्भ कार्यक्रममा हिमालय आँखा अस्पतालका व्यवस्थापक कुमार गर्बुजा, राष्ट्रिय स्वतन्त्र पार्टीका व्यास नगर सभापति चुडामणि दाहाल, नेपाली कांग्रेसका नगर सभापति तुलसीराम सापकोटा, नेकपा (एमाले) का नगर अध्यक्ष तुलसीराम पाण्डे र नेपाली कम्युनिष्ट पार्टीका नगर अध्यक्ष गोपाल सुर्खालीलगायतले सेवाको नियमितता र प्रभावकारितामा जोड दिएका थिए ।












