देवघाट । मंसिर २
देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष सावित्री न्यौपाने दवाडीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संस्थाकी पुर्व अध्यक्ष मिठीदेवी पौडेलले उद्घाट गरेकी थिइन् ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुर्व अध्यक्ष पौडेलले सहकारी संस्थाहरू महिलाको आर्थिक, सामाजिक तथा उद्यमशीलता विकासका मेरुदण्ड भएको बताइन् । सहकारीलाई अझ सबल, पारदर्शी र सदस्यकेन्द्रित बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाई थियो । महिलाहरू एकजुट भएर अघि बढ्दा आर्थिक तथा सामाजिक क्षेत्रमा सकारात्मक परिवर्तन सम्भव भएको र आगामी दिनमा पनि संस्थाले महिलाहरूलाई आत्मनिर्भर बनाउने र उद्यमशीलता विकास गर्ने अभियानलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाई थियो ।
उक्त कार्यक्रममा देवघाट गाउँपालिका सहकारी शाखा प्रमुख कृष्णराज पन्त, हरिहर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किरण सुवेदी, देवघाट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जुन अधिकारी लगायतका अतिथिहरूले सहकारीको संस्थागत विकास, सदस्यहरूको आर्थिक उन्नति र महिला सशक्तीकरणमा संस्थाले पु¥याएको योगदानको प्रशंसा गरेका थिए ।
साधारण सभाले संस्थाको विगतको प्रगतिको समीक्षा गर्दै आगामी दिनका लागि महिला सशक्तीकरण, सामूहिक उद्यमशीलता र आर्थिक आत्मनिर्भरतासम्बन्धी नयाँ योजना तथा लक्ष्यहरू तय गरेको संस्थाकी व्यवस्थापक संगिता ओझाले जानकारी दिइन् । सो कार्यक्रमको सन्चालन संस्थाकी सचिव बसन्ती थापाले गरेकी थिइन् ।












