श्याम थापा
भानु नपा–१२, तनहुँ
हाम्रो गाउँमा विकास भएन भनेर हामी धेरै गुनासो गर्छौं । तर विकास नहुनुको पछाडि एउटा मात्र कारण हुँदैन । धेरै कारणहरू जोडिएर विकास रोकिएको हुन्छ ।
१. सहि योजना नै नबन्नु
धेरै ठाउँमा बजेट आउँछ, तर कहाँ के बनाउने भन्ने राम्रो योजना बन्दैन । हचुवामा काम हुन्छ । बाटो बनायो, वर्षामा भत्कियो । फेरि त्यही बाटोमा बजेट हालिन्छ । दीर्घकालीन सोचको कमी नै सबैभन्दा ठूलो कारण हो ।
२. बजेटको दुरुपयोग र भ्रष्टाचार
आएको बजेट सबै विकासमा पुग्दैन । कमिसन, नातावाद र आफन्तवादले गर्दा आधा बजेट बाटोमै सकिन्छ । काम गुणस्तरीय हुँदैन । कागजमा काम सकिएको देखिन्छ, जमिनमा केही देखिँदैन ।
३. राजनीतिक खिचातानी
एउटा पार्टीले राम्रो काम सुरु गर्यो भने अर्को पार्टीले विरोध गर्ने, काम रोक्ने प्रवृत्ति छ । विकास सबैको हो भन्ने बुझाइ छैन । चुनाव जित्नका लागि मात्र विकासको नारा लगाइन्छ, चुनावपछि बिर्सिन्छ ।
४. जनताको निगरानी नहुनु
हामी भोट हालेर घर बस्छौं । आफ्नो वडामा कति बजेट आयो, कति खर्च भयो भनेर सोध्दैनौं । जब जनताले प्रश्न सोध्न छोड्छन्, तब नेताले काम गर्न छोड्छन् ।
५. दक्ष र इमानदार जनशक्ति नहुनु
धेरै युवा विदेश गए । गाउँमा काम गर्ने इमानदार र पढेलेखेका मान्छे कम हुँदै गए । गाउँको विकास गाउँकै मान्छेले गर्नुपर्छ भन्ने भावना कमजोर भयो ।
६.सबैले आफ्नो मात्र स्वार्थ हेर्नु
मेरो घर अगाडि बाटो पुगोस्, मेरो आफन्तले जागिर पाओस् भन्ने सोचले गर्दा सामूहिक विकास हुन सकेन । गाउँको भलो भन्दा व्यक्तिगत फाइदा ठूलो भयो ।
अब के गर्ने ?
विकास नहुनुमा नेता मात्र दोषी छैनन्, हामी मतदाता पनि उत्तिकै जिम्मेवार छौं ।
अबको स्थानिय निर्वाचनमा अनाबश्यक आश्वासनमा होइन, योजना, इमानदारी र काम हेरेर भोट दिऔं । अनि भोट दिएपछि पनि, हाम्रो बजेट कहाँ खर्च भयो भनेर सोध्ने आँट गरौं ।
किनभने, सोध्ने जनता भएपछि मात्र काम गर्ने नेता जन्मिन्छ ।











