देवघाट । मंसिर ९
देवघाट गाउँपालिका अन्तर्गतका नौवटा सामुदायिक माध्यमिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ । देवघाट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयले गत मंसिर ४ गते सूचना प्रकाशन गर्दै गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरूबाट दरखास्त माग गरेको हो ।
शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ९३ तथा नियमको उपनियम (२) र (२क) बमोजिम मंसिर ३ गते बसेको गाउँ शिक्षा समितिको निर्णयअनुसार प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार प्रधानाध्यापक माग गरिएका विद्यालयहरूमा वडा नम्बर १ को पार्वती मावि, वडा नम्बर २ को कालीगंगा मावि र आदर्श शिक्षा मावि, वडा नम्बर ३ को बालकेश मावि र भृकुटी मावि, वडा नम्बर ४ को राष्ट्रिय मावि तथा वडा नम्बर ५ को कालिका मावि, बज्रयोगिनी मावि र सिद्धमहाकाली मावि रहेका छन् ।

प्रधानाध्यापकको उम्मेदवारका लागि माध्यमिक तहको स्थायी शिक्षक भएको, स्नातकोत्तर तह वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको वा स्नातक तह वा सो सरह उत्तीर्ण गरी तालिमसहित कम्तीमा पाँच वर्ष स्थायी सेवा गरेको हुनुपर्ने न्यूनतम योग्यता तोकिएको छ । योग्यता पुगेका इच्छुक स्थायी शिक्षकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित गाउँ कार्यपालिकाको कार्यालयमा निवेदन पेस गर्नुपर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले बताए ।












