देवघाट । मंसिर ९
पवित्र तीर्थस्थल देवघाटधाममा मंगलबार साँझ विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ गण्डकी पूजन एवं देवदीपावली सम्पन्न भएको छ ।

कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल देवघाटधाममा महेश सन्यास आश्रमद्वारा आयोजित कार्यक्रममा धार्मिक अनुष्ठान, वैदिक मन्त्रोच्चारणसहित गण्डकी पूजन तथा साँझ दीप प्रज्वलन गरी देवदीपावली मनाइएको हो । नदी तथा प्राकृतिक सम्पदाको संरक्षण, धार्मिक पर्यटनको प्रवद्र्धन र आध्यात्मिक जागरण फैलाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

कार्यक्रममा महेश सन्यास आश्रमका पीठाधीश रमणानन्द गिरी, विभिन्न मठ मन्दिरका सन्त–महन्त, धार्मिक अगुवा, गुरुकुलका बटुकहरु सामाजिक व्यक्तित्व तथा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो । साँझ नदी किनारमा बालिएका दीपहरूले नदी क्षेत्र झिलिमिली बनेको थियो ।

धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै देवघाटधामलाई आध्यात्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा अझ सशक्त बनाउने सन्देशसहित कार्यक्रम सम्पन्न भएको आयोजक पक्षले जनाएको छ ।














