तनहुँ । मंसिर ९
बिहानको चिसो मौसममा पनि बुल्दी खोलालाई सफा र स्वच्छ राख्ने सपना बोकेर सामाजिक अभियान्ता सुदीप गफ्फार सरसफाइ अभियानमा सक्रिय रहेका छन् ।
दमौलीको मुटु भएर बग्ने बुल्दी खोलामा फोहोर फाल्ने व्यक्तिलाई फूलमाला र पुरस्कारसहित सम्मान गर्ने उहाँको अनौठो अभियानले यतिबेला धेरैको ध्यान तानिरहेको छ । खोलामा फोहोर फाल्नेलाई सम्मान गरिने कुराले पहिलो नजरमा आश्चर्य पैदा गरे पनि यसको मूल उद्देश्य बुल्दी खोलालाई फोहोरमुक्त बनाउनु रहेको गफ्फारले बताए । ‘बुल्दी खोलामा फोहोर फाल्नेलाई फूलमाला र पुरस्कारसहित सम्मान गर्नेछौँ, तर हाम्रो उद्देश्य सम्मान होइन–बुल्दी खोलालाई फोहोरमुक्त बनाउनु हो’ अभियान्ता गफ्फारले भने ।
खोलामा फोहोर फाल्ने बानीलाई निरुत्साहित पार्दै सरसफाइप्रति नागरिकमा जिम्मेवारीबोध जगाउने लक्ष्यसहित यो अभियान सुरु गरिएको उनको भनाइ छ । बुल्दी खोलालाई सफा, स्वच्छ र फोहोरमुक्त राख्न स्थानीयवासीको सहभागिता र साथ अपरिहार्य रहेको उल्लेख गर्दै गफ्फारले सरसफाइ अभियानमा जोडिन सबैलाई आग्रह गरेका छन् ।











