कांग्रेसको केन्द्रीय समिति बैठकमा पन्थले उठाए संगठन सुदृढीकरणदेखि सुशासन र समावेशितासम्मका विषय

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा संगठन सुदृढीकरण, सुशासन, संघीयता कार्यान्वयन, सामाजिक न्याय र समावेशितालगायतका विषयमा धारणा राखेका छन् । बैठकको दोस्रो दिन महाधिवेशनपछि पहिलोपटक धारणा राख्दै पन्थले ‘हामी तयार छौँ’ अभियानलाई संगठनको पुनर्जागरण र जनतासँगको सम्बन्ध नवीकरणको अभियान बनाउनुपर्ने बताए ।

उनले कार्यकर्ताका गुनासा सम्बोधन गर्ने व्यवस्थित प्रणाली, नियमित प्रशिक्षण, युवालाई अवसर तथा महिला र विभिन्न समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए । भोटेकोशी र बूढीगण्डकीका विपद् प्रभावितको पुनःस्थापना तथा पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले सुकुम्बासी समस्या मानवीय र न्यायोचित ढङ्गले समाधान गर्नुपर्ने धारणा राखे ।

सरकारका कामको मूल्याङ्कन तथ्य र परिणामका आधारमा हुनुपर्ने बताउँदै पन्थले पार्टीमा नीति, अनुसन्धान र योजनासम्बन्धी बलियो संस्थागत संयन्त्र आवश्यक रहेको औँल्याए । स्थानीय निर्वाचनको तयारी अहिलेदेखि नै सुरु गरी संगठन सुदृढीकरण, जनसम्पर्क र स्थानीय विकासका एजेन्डा तय गर्नुपर्ने उनको भनाइ थियो ।

पार्टीले दिएको जुनसुकै जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताउँदै पन्थले प्रदेश तथा स्थानीय मामिला, नीति-अनुसन्धान-योजना तथा प्रशिक्षण, संगठन-प्रशासन तथा गुनासो व्यवस्थापन र सूचना-सञ्चार तथा डिजिटल प्रविधिलाई आफ्नो प्राथमिक रुचिका क्षेत्रका रूपमा प्रस्तुत गरे ।

उनले संघीयता कार्यान्वयन, सामाजिक न्याय, समावेशिता र अपाङ्गता भएका व्यक्तिको अधिकारका विषयमा पार्टीको नीति निर्माणदेखि कार्यान्वयनसम्म योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे । महाधिवेशनको परिणामलाई विजय र पराजयका रूपमा मात्र नहेरी सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले पार्टीलाई विचारमा स्पष्ट, संगठनमा बलियो र जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट गाउँपालिकाका नौ माविमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

देवघाट । मंसिर ९ देवघाट गाउँपालिका अन्तर्गतका नौवटा सामुदायिक माध्यमिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त

धार्मिक अनुष्ठान र दीप प्रज्वलनसहित देवघाटमा गण्डकी पूजन एवं देवदीपावली

देवघाट । मंसिर ९ पवित्र तीर्थस्थल देवघाटधाममा मंगलबार साँझ विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ