तनहुँ । मंसिर ९
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बुधबारबाट सुरु भएको छ । यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ यो अभियान देशैभर सन्चालन गरिएको छ ।
अभियानको अवसरमा बुधबार जिल्लाका सबै स्थानीय तहहरुले विभिन्न कार्यक्रम गरेका छन् । अभियानको अवसरमा जिल्लाभर लैङ्गिक हिंसाको विरुद्धको प्रतिकको रुपमा मानिने सेतो रिवन वितरण, प्रभातफेरी र हस्ताक्षर कार्यक्रम भएका छन् । अभियानको पहिलो दिन बुधबार ‘म हिंसा गर्दिनँ, म हिंसा सहन्नँ र म हिंसाको प्रतिकार गर्छु’ भन्ने नारा लेखिएको व्यानरमा हस्ताक्षर गरिएको थियो ।
यो अभियान लैङ्गिक हिंसाको अन्त्य गर्नका लागि सर्मपित एक बिश्वब्यापी अभियान हो । हरेक बर्षको नोभेम्बर २५ तारिख देखि यो अभियान शुभारम्भ भई अन्तराष्ट्रिय मानवअधिकार दिवस १० डिसेम्बरका दिन यस अभियानको समापन हुन्छ ।
यस अभियानको शुरुवात सन् १९८१ मा ल्याटिन अमेरिकाबाट डोमिनीकन गणतन्त्रका एकै परिवारका पेटिया, मिनार्मा र मारिया ३ दिदीबहिनीको हत्यासँग जोडिएको छ । यस घटनालाई लैंङ्गिक रुपमा गरिएको राजनैतिक हिंसाको रुपमा लिईन्छ ।

३ दिदी बहिनी राजनैतिक कार्यकर्ता भई तत्कालिन त्रिजुलो तानाशाही सरकारको बिरुद्धमा लागि परेका थिए । उनीहरुलाई राज्यद्रोहको आरोप लागेको थियो । यसै आरोपमा २५ नोभेम्बरमा उनीहरुको सामूहिक हत्या गरिएको थियो । उनीहरुका शुभचिन्तकहरु हत्याको बिरोधमा आन्दोलनमा उत्रिए । त्रिजुलोे सरकारको अन्त्य र स्वतन्त्र गणराज्य स्थापना सँगै सन् १९९१ मा डोमिनीकन गणराज्य र अन्य ७४ राष्ट्रले संयुक्त राष्ट्रसंघमा २५ नोभेम्बरलाई महिला बिरुद्ध हुने हिंसा उन्मूलन दिवसको रुपमा मनाउन प्रस्ताव पेश भयो । संयुक्त राष्ट्रसंघले उक्त प्रस्तावलाई पारित गरि सोही अनुसार यो अभियान विश्वव्यापी रुपमा मनाउन थालिएको हो ।
यो अभियान अन्तर्गत पहिलो दिन शनिबार सेतो रिवन वितरणको अभियान सुरु गरिन्छ । सेतो रिबनलाई लैङ्गिक हिंसा बिरुद्धको प्रतिकको रुपमा लिइन्छ । त्यसैगरि अभियानको क्रममा विश्व एड्स दिवस, विश्व अपाङ्गता दिवस पनि मनाईन्छ । साथै अन्तिम दिन १० डिसेम्बरमा विश्व मानवअधिकार दिवस मनाई यो अभियान समापन गरिने कार्यक्रम रहेको छ ।











