देवघाटको सिटी हल उद्घाटन

Devghat Online

शेयर गरौ

अदालतलाई आफु अनुकुल फैसला गर भनेर दवाव दिनु अनुचित ः अध्यक्ष तिमिल्सेना
२९ माघ, देवघाट
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले आफु अनुकुल फैसला गर भनेर अदालतलाई दवाव दिनु अनुचित भएको बताएका छन् । अदालतले आफुहरुले भने अनुसार नै फैसला गर्नु पर्छ भन्दै सडकमा नारा समेत लाग्नु दुःखद भएको अध्यक्ष तिमिल्सेनाले बताए । देवघाट गाउँपालिका–५ क्युँदीमा नवनिर्मित सभा हलको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सेनाले सर्वाेच्च अदालतको फैसलालाई सबैले स्विकार गर्नु पर्ने बताए ।
स्वतन्त्र न्यायपालिका र संविधानको व्याख्याताको रुपमा रहेको सर्वाेच्च अदालतको अन्तिम फैसलालाई सबैले स्विकार गरेर त्यसै अनुसार अगाडी बढ्न सकेमा सबैको हित हुने उनको भनाई थियो । अदालतको फैसलालाई विरोध गर्नु र सडकबाट सच्याउँछौ भन्नु देशमा झन अस्थिरता निम्त्याउनु हुने उनले बताए । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्धामा सर्वाेच्च अदालतले फैसला गरेपछि देशको राजनीतिक अन्यौलता हट्ने अध्यक्ष तिमिल्सेनाको भनाई थियो । अहिले देशमा प्रतिनिधि सभा पुनस्थापना कि मध्यावधी निर्वाचन भन्ने पक्ष र विपक्षमा राजनीतिक दल मात्र नभएर सबै पक्ष विभाजित भएको भन्दै अध्यक्ष तिमिल्सेनाले सर्वाेच्चको फैसला आएपछि त्यो अन्यौलता हट्ने बताए ।


अहिले सडकमा लागेका नारा र नेताहरुले एक अर्कालाई गरेको गाली गलौज र आरोप प्रत्यारोपले नागरिकलाई निराश बनाएको भन्दै अध्यक्ष तिमिल्सेनाले समृद्ध नेपालको अभियान गाली गलौजले नभई काम गरेर मात्र पुरा हुने बताए । जनताको स्थिरताको चाहाना विपरित काम गर्नेहरुलाई जनताले नै दण्डित गर्ने भन्दै उनले आफ्नो व्यक्तिगत स्वार्थ र महात्वाकांक्षा भन्दा माथी उठेर देश र जनताकोलागि काम गर्न राजनीतिक दलका नेताहरुलाई आह्वान गरे ।
देवघाट मुलुककै प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र भएको हुँदा यहाँको विकासकोलागि तिनवटै तहका सरकारहरु मिलेर काम गर्नु पर्ने अध्यक्ष तिमिल्सेनाले सुझाव दिए । यस क्षेत्रको विकास गर्न सके धेरै भन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने र त्यसबाट आर्थिक समृद्धी कायम गर्न सकिने उनको भनाई थियो ।
कार्यक्रममा बाग्मती प्रदेशका सांसद विजय सुवेदीले देवघाट गाउँपालिका तनहँु जिल्लामा पर्ने भएपनि बृहत चितवन उपत्यका भित्र देवघाटलाई समेत समेटेर बाग्मती प्रदेश सरकार मार्फत पुर्वाधार निर्माणको काम अघी बढाईने बताए । सामाजिक न्याय सहितको पुर्वाधार विकासलाई स्थानीय सरकारले लक्ष्य लिनु पर्ने उनको भनाई थियो ।
देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले गाउँपालिकामा पुर्वाधार निर्माणको कामले गति लिएको भन्दै समृद्ध देवघाट निर्माणकोलागि आफुहरु केन्द्रीत भएको बताए । गन्डकी प्रदेश सरकारको ६० प्रतिशत र देवघाट गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा ९५ लाख ५४ हजार रुपैयाँको लागतमा सो सभाहल निर्माण गरिएको गाउँपालिकका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) देवघाटका अध्यक्ष भुवनसिंह थापा, नेपाली काँग्रेसका सभापती प्रेमबहादुर गुरुङ, नेकपा गाउँ कमिटिका सचिव केशवचन्द्र न्यौपानले पनि मन्तव्य राखेका थिए ।
कोभिडको जोखिमको कारण देशैभर लकडाउन गरिएको समयमा गाउँपालिकाको समन्वयमा निर्माण सामाग्री ढुवानी गरि सो सभाहल निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटाले जानकारी दिए । पाँच रोपनी क्षेत्रफलमा फैलिएको सो सभाहलमा ३ सय जनाको क्षमताको हल र दुई वटा साना कोठाहरु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले