७ फागुन, देवघाट
देवघाट गाउँपालिकाले पहाड फोरेर सडकको ट्रयाक खुलाएको छ । देवघाटको मुख्य गौरवको आयोजना साउने–कर्ताप मोटरमार्गको ट्रयाक खन्ने काम हालै सम्पन्न भएको छ । वडा नम्बर ५ को साउनेदेखी वडा नम्बर ४ को कर्ताप भन्ज्याङसम्म जोड्ने ९ किलोमिटर खन्डमा कडा पहाड फोरेर सडक खुलाएको हो । तिन वटै तहको सरकारको आर्थिक लगानीमा उक्त ग्रामिण सडकको ट्रयाक खोल्ने काम पुरा भएको वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकका प्रवक्ता यालबहादुर गुरुङले बताए ।
कालोपत्रे गर्नसम्मकोलागि ९ करोडको डिपिआर तयार भएपनि पहिलो चरणमा ट्रयाक खन्न मात्र १ करोड लागत खर्च भएको गुरुङले जानकारी दिए । त्यसकोलागि संघीय सरकारले २० लाख, प्रदेश सरकारले ५० लाख र गाउँपालिकाले ३० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

ठुला ठुला पहाड काटी उक्त सडकको ट्रयाक खोलिएको वडा अध्यक्ष गुरुङले बताउनु भयो । उक्त सडकको ट्रयाक खोलिएसँगै अव देवघाटका बाँकी चार वटा वडाबाट गाउँपालिकाको केन्द्रसम्म जाने बाटो खुलेको छ । यस अघि वडा नम्बर २ र ३ बाट गाउँपालिकाको केन्द्र जान बुद्धसिंह मार्ग हुँदै चितवनको घुमाउने निस्किएर जानु पर्ने बाध्यता थियो । वडा नम्बर ४ का अध्यक्ष पदमबहादुर गुरुङले उक्त सडकमा ट्रयाक खुलेसँगै अव वडाका बासिन्दालाई गाउँपालिकाको केन्द्रसम्म जान निकै सहज हुने बताए ।
देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले साउने–कर्ताप मोटर मार्गको ट्रयाक खुलेपछि अव सबै वडा र सबै भेगमा मोटरबाटो पुगेको बताए । उक्त ट्रयाकलाई गाउँपालिकाले गौरवको आयोजनाको रुपमा लिई प्राथमिकतामा राखेर काम गरिएको बताए । तिन वटै सरकारको समन्वयमा उक्त सडकको ट्रयाक खोलिएको भन्दै अध्यक्ष थापाले अव क्रमशः सडक कालोपत्रेकोलागि पहल गरिने बताए । सडकको ट्रयाक खोलिएपछि अव गाउँमा आर्थिक गतिविधिहरु बढ्ने र कृषि उपज बस्तुहरुलाई गाउँपालिकाको हाटबजारमा विक्रीकोलागि ल्याउन सहज हुने गाउँपालिकाका अध्यक्ष थापाले बताए ।















