देवघाट अनलाइन
अन्जान परियार, घिरिङ
घिरिङ गाउँपालिकामा आयोजित गरिबी निवारणका लागि लघु उधम बिकास कार्यक्रम अन्तर्गत बुटिक डिजाइन सम्बन्धि प्राबिधिक सीप बिकास तालिम बिहिबार देउरालीमा सम्पन्न भएको छ ।



वडा नम्बर ५ का अध्यक्ष बिष्णुविर आलेको अध्यक्षतामा भएको सो तालिम समापन कार्यक्रममा प्रमुख अतिथि घिरिङ गाउँपालिका अध्यक्ष होमबहादुर थापा रहेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सीप सिकेर जिबनमा आर्थिक स्रोतको माध्यम बनाउनु पर्ने बताएका थिए । साथै गाउँपालिकाले आगामी दिनमा महिलाहरुलाई सिप सिकाएर उधमी बनाउने लक्ष्य राखेको अध्यक्ष थापाले बताए ।
गाउँपालिकाले सीप सिकाएर आत्मनिर्भर बनाउने उदेश्यले सन्चालन गरेको विभिन्न तालिममा सहभागी हुन सबै महिलाहरुलाई अध्यक्ष थापाले आग्रह गरेका थिए । गत चैत्र १ गते देखि १६ गते सम्म सन्चालित सो बुटिक डिजाइन तालिममा १४ जना महिलाहरु सहभागी थिए । सो तालिममा माया सारुले प्रशिक्षण गरेकी थिईन् भने ३ दिने अचार बनाउने तालिममा ११ जना महिला हरु सहभागी रहेका थिए । उनिहरुलाई थानेश्वर भुसालले प्रशिक्षण दिएका थिए ।
तालिम समापनको अवसरमा गाउँपालिका अध्यक्ष थापाले प्रशिक्षार्थीहरुलाई सिकाइमा प्रयोग भएका भौतिक सामाग्री सहित प्रमाणपत्र प्रदान गरेका थिए । प्रशिक्षार्थीहरुले तालिम उपलब्धिमुलक रहेको र आत्मबल बढेको भन्दै गाउँपालिका प्रति आभार ब्यक्त गरेका थिए भने सिप सिकेर आफ्नै ठाउँमा उत्पादन गरेको सामानको बिक्रि बितरणमा गाउँपालिकाले सहयोग गर्न माग गरेका थिए ।
सो कार्यक्रमका घिरिङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेल, कार्यक्रम संयोजक ध्रुब लामिछाने र प्रेस सल्लाहकार अन्जान परियारको उपस्थिती रहेको थियो भने कार्यक्रम जेनिसा डाँगीले सन्चालन गरेकी थिईन् ।












