१० हजार फिर्ता नपाएपछि हत्या

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत १६

घरघरै वितरण गरिएको खानेपानी पिउन नमिल्ने गरेर दुर्गन्धित बन्यो । धेरै दिनसम्म पानीमा दुर्गन्ध हटेन । पृथ्वीराजमार्ग विस्तारको क्रममा ठाउँ ठाउँमा पाइप काटिएकाले पानी धमिलो र दुर्गन्धित भएको अनुमान उपभोक्ता समितिको थियो ।

१३८ घरधुरीमा बाँडिएको खानेपानीबारे निकै गुनासो आएपछि उपभोक्ता समितिले खानेपानीको ट्यांकी खोलेर हेर्दा ट्यांकीभित्र महिलाको शव फेला प¥यो । शव क्षतविक्षत र किरा परेको थियो । सोमबार तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित पिपलटार खानेपानी उपभोक्ता समितिको खानेपानी ट्याङकीभित्र फेला परेको उक्त शव थियो कास्कीको पोखरा महानगरपालिका–३३ बागमारा बस्ने ४४ वर्षीया शान्ति श्रेष्ठको ।

उनी फागुन २१ गतेदेखि परिवारको सम्पर्कमा थिइनन् । शव फेला परेको भोलिपल्ट उनका आफन्तले शवको पहिचान गरे । हातमा भएको खतले आफन्तले पहिचान गरे । काभ्रेको पाँचखाल नगरपालिका–५ स्थायी ठेगना भएकी शान्ति छोराछोरीसहित बागमारामा बस्दै आएकी थिइन । श्रीमान बितेपछि ५ वर्षअगाडि माइतीको शरणमा आएकी उनी पछिल्लो समय पोखराको अमरसिंहचोकमा फलफुलको व्यापार गर्थिन् ।

शान्तिको हत्या गरेर खानेपानी ट्यांकीभित्र शव फालेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्टले बताए । हत्याको आरोपमा काभ्रेको पाँचखाल–५ घर भइ पोखराको घारीपाटन बस्दै आएका ३५ वर्षीय प्रकाश सुनारलाई पक्राउ गरेको उनले जानकारी दिए । उनलाई तनहुँको थप्रेकबाट प्रहरीले पक्राउ गरेको हो ।

सुनारले सापटी दिएको रकम फिर्ता नगरेपछि हत्या गरेको खुलेको विष्टले बताए । उनले भने, ‘१० हजार रुपैयाँ सापटी रकम फिर्ता नदिदाँ सुनारले हत्या गरेको खुलेको छ । हत्या गरेपछि महिलासँग भएको गरगहना र मोबाईल लुटिएको छ ।’ हत्यापछि सुनारले श्रेष्ठले लगाएको गहना पोखराको महेन्द्रपुलमा सञ्चालित रजनी सुनचाँदी पसलमा लगेर विक्री गरेका थिए । हत्यापछि लुटेको गहना खरिद गर्ने सुनचाँदी पसलका सञ्चालक रविनकुमार गहतराजलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यान मुद्वामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए । ‘टेक्निकलदेखि लिएर सबै भौतिक प्रमाण हामीले संकलन गरिसकेको र अझ गर्ने क्रममा रहेका छौं । यि सबै तथ्य प्रमाणहरुबाट चित्र भनिने प्रकाश सुनवारले कर्तव्य गरी मारेको अहिलेसम्मको अनुसन्धानमा देखिएको छ’, उनले भने ।

मृतक शान्ति श्रेष्ठ र हत्या आरोपमा पक्राउ परेको प्रकाश सुनारको २ वर्ष अगाडि चिनजान भएको थियो । बागमारा बस्ने शान्ति पोखराको अमरसिंह चोकमा फलफुलको व्यापार गर्थिन । सवारी चालक सुनार फलफुल लगायतका खाद्यन्न सामाग्री ढुवानीको काम गर्थे । सोही क्रममा यि २ बीच भेटघाट र चिनजान भयो । भेटभाट बाक्लिदै गएपछि सम्बन्ध घनिष्ठ बन्यो । सुखदुखमा लेनदेनमा समेत हुन थाल्यो ।

पछिल्लो समय शान्तिले प्रकाशसँग २ महिनाअगाडि छोराको उपचारका लागि भनेर १० हजार रुपैयाँ सापट लिएको खुलेको प्रहरीले जनाएको छ । प्रकाशले सापट फिर्ता माग्दा दिन सकिनन् । ‘छोरा बिरामी भएकाले अहिले दिन नसक्ने भन्दै इन्कार गरिन । रकम फिर्ता नदिएपछि सम्बन्धमा खटपट सिर्जना भयो’, प्रहरी उपरीक्षक विष्टले बिहीबार पत्रकार भेटघाटमा भने ।

पैसा दिने भनेर श्रेष्ठले सुनारलाई फागुुन २१ गते खैरेनीटार लगेकी थिइन । जुन दिनदेखी उनी बेपत्ता भएकी थिइन । खैरेनीटारमै विवाद भएपछि सुनारले इट्टा प्रहार गरेर हत्या गरेको खुलेको प्रहरी उपरिक्षक विष्ट बताए । शान्तिको परिवारले भने चैत ६ गते मात्रै जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजतलासका लागि निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको