देवघाट अनलाईन
दमौली, चैत १७
मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार) अभियान अन्तर्गत व्यास नगरपालिका वडा नम्बर १३ र १४ को वडा कमिटीहरुको संयुक्त वैठक तथा प्रशिक्षण कार्यक्रम शुक्रबार छाब्दीमा सम्पन्न भयो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेकी केन्द्रिय सदस्य विद्या भट्टराईले एमालेको मुलुकको एउटा महत्वपुर्ण राजनीतिक शक्ति भएको भन्दै राष्ट्रिय हितको संरक्षण र सम्बद्र्धन गर्ने एमालेलाई कमजोर नपारेसम्म विदेशीको हित नहुने हुँदा सबै मिलेर एमालेलाई कमजोर बनाउन लागेको बताईन् । देशी बिदेशी प्रतिक्रियाबादीको षड्यन्त्रले एमाले कमजोर नभई झन बलियो बन्दै गएको भट्टराईले बताईन् । यसको उदाहरण गत निर्वाचनमा सबैको घेराबन्दीको बाबजुद जनताको लोकप्रिय मतमा एमाले सबैभन्दा ठुलो पार्टी बनेको भट्टराईले बताईन् ।





अस्थिरतामा रमाउन चहानेहरु एमालेको विरुद्धमा लाग्ने भन्दै भट्टराईले जनताले नै एमालेलाई थप मजबुद र संगठित बनाउने बताइन् । अहिले सन्चालन भएको मिसनग्रासरुट अभियानले एमालेलाई थप बलियो र सुदृढ बनाउने भट्टराईको भनाई थियो । तनहुँ क्षेत्र नम्बर १ मा बैशाख १० गते उपनिर्वाचन हुने भएको हुँदा सबै मतदाताले एमालेका उम्मेदबारलाई मतदान गरि बिदेशीले मिलाईदिएको वर्तमान सत्ता गठबन्धनको विरुद्धमा आफुलाई उभ्याउने बेला आएको भट्टराईले बताईन् ।
सो कार्यक्रममा नेकपा एमाले गन्डकी प्रदेश कमिटिका सचिवालय सदस्य विष्णुभक्त सिग्देलले देशभक्तीपुर्ण आन्दोलनको नेतृत्व एमालेले गरेको बताए । एमालेलाई कमजोर बनाएर राष्ट्रियताको आन्दोलनलाई कमजोर बनाउने योजनालाई जनताले फेल गराउने सिग्देलले बताए । अहिले सन्चालित मिसन ग्रासरुट अभियानले एमालेलाई एकढिक्का र थप मजबुद बनाउने सिग्देलले बताए ।


वडा नम्बर १४ का अध्यक्ष नुरवहादुर आलेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गन्डकी प्रदेश कमिटीका सदस्य देवीवहादुर वस्नेत, जिल्ला सचिवालय सदस्य भुपेन्द्र कोईराला, जिल्ला कमिटि सदस्य कुलबहादुर थापा र प्रकाशचन्द्र भट्टराई, व्यास नगर कमिटीका का.वा अध्यक्ष तुल्सीराम पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा राष्ट्रिय युवा सँघ नेपाल तनहुँका अध्यक्ष मदन, तिमल्सेना, व्यास नगर कमिटिका सदस्यहरु विनोद वि.क, मनोज सुवर्णकार, युवा संघका व्यास नगर कमिटिका अध्यक्ष अजित पन्थ, अनेरास्ववियु जिल्ला कमिटिका सह–सचिव सागरजंग पन्थ लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

कर्यक्रमको सन्चालन वडा नम्बर १३ का सचिव डाक्टर ईश्वर तिवारीले र स्वागत टोलराज पन्थले स्वागत गरेका थिए । सो वैठकले अभियानलाई टोल–टोल सम्म पु¥याउन र गति दिनका साथै आगामी वैशाख १० गते हुने उप–निर्वाचनलाई ध्यान दिदै पार्टीलाई व्यवस्थित गर्न महत्वपूर्ण योजना तय गरेको छ ।












