देवघाट अनलाइन
दमौली, चैत २४
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडद्वारा निमार्णधीन बन्दीपुर केवलकारले आइपिओ निष्काशन गर्ने भएको छ । आइपिओ निष्काशन गर्न कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई बिक्री प्रवन्धकका रुपमा नियुक्त गरेको छ ।



सर्वसाधारणका लागि कम्पनीले १ सय रुपैयाँ अंकित मुल्यका दरले २५ लाख ८० हजार कित्ता सेयर निष्काशन गर्दैछ । कुल कित्ता मध्ये ४ लाख ३० हजार कित्ता स्थानीयको भागमा पर्नेछ । कुल कित्ता सेयरमध्ये दुई प्रतिशत अर्थात ४ करोड ३० लाख बराबरको सेयर बन्दिपुरबासीले मात्र पाउनेछन् । त्यस्तै दश प्रतिशत अर्थात् २१ करोड ८० लाख बराबरको सेयर सर्वसाधरणलाई खुल्ला गरिने कम्पनीले जनाएको छ ।
कूल ३ सय ४९ करोड रुपैयाँ लागत रहेको कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड छ । चुक्ता पुँजीको दुई प्रतिशत अर्थात् ४ करोड ३० लाख बराबरको साधारण सेयर परियोजना प्रभावित क्षेत्रका नागरिकलाई छुट्याइएको छ । जसमा बन्दीपुर गाउँपालिका, भानु नगरपालिका र आबुँखैरेनी गाउँपालिकाका स्थानीय पर्छन् ।
जसबाट दिर्घकालीन रुपमा स्थानीय लाभान्वित हुनेछन् । निर्माण भइसकेको परियोजनाको १०० रुपैयाँमा कित्ता खरिद गर्न पाउनु स्थानीयका लागि ठुलो अवसर हो । राम्रो पक्ष के भने यस्तो प्रकारको सेयर प्राप्त गरेपछी उक्त सेयर खुल्ला बजारमा लिष्टिङ हुन्छ र भोलिका दिनमा खरिद मुल्य भन्दा अधिक मुल्यमा बिक्री हुने अवसर पनि प्राप्त हुन्छ ।
यस्तो अभ्यास यसअघि सञ्चालित चन्द्रागिरी, कालिनचोक भगवती लगायतका केवलकार कम्पनीहरुले गरीसकेका छन् । कुल सेयर कित्ता मध्ये स्थानीयलाई पहिला नै खुल्नेछ । यसरि निश्चित कित्ता सुरक्षित गर्दा स्थानीय क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ हुने देखिन्छ । स्थानीय सम्म ४ लाख ३० हजार कित्ता प्राप्त गर्ने निश्चित गरि दिंदा आर्थिक हिसाबले भविष्यमा स्थानीय स्तरमा ठुलो फाइदा हुने देखिन्छ । अर्कोतर्फ आइपिओ साक्षरताको ज्ञान बढाउन सक्ने भएकाले पनि यसबाट स्थानीयमा सिकाइ र अनुभब दुबै हुन्छ ।
स्थानीयलाई आर्थिक उपार्जनमा जोडदै समृद्धिको अभियानलाई अगाडि बढाउन आइपिओमा स्थानीयलाई विशेष प्रथामिकता दिइएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । कम्पनीले आइपिओको यति ठुलो अंश स्थानीयका लागि छुट्टयाइरहदा सेयर साक्षरता अभिवृद्धिको आवश्यकता पर्ने उनले बताए ।
स्थानीयले यसको अधिकतम फाइदा लिन यसबारे आधारभूत ज्ञान आवश्यक पर्दछ । स्थानीयलाई सेयर र आइपिओ सम्बन्धी साक्षर बनाउन स्थानीय सरकार समेत लाग्ने हो भने जनताहरुलाई बुझाउन अझ सजिलो हुने देखिन्छ । जसबाट स्थानीयलाई शेयर बिक्रि सम्बन्धी ज्ञान पनि हुन्छ र उनीहरुले बिक्री गर्न नसकेको खण्डमा बाहिरको जनतालाइ दिनुपर्ने कानुनी प्राबधान लगायतका बारेमा समेत सचेत हुने मौका मिल्छ ।
सञ्चालनको तयारीमा रहेको बन्दीपुर केबलकार र सोही परियोजना अन्तर्गतका होटलसँग सम्बन्धित काममा करिब १ हजार जनाले रोजगारी पाउने भएका छन् । निर्माणधीन परियोजना सञ्चालन पश्चात उक्त परियोजना मार्फत १ हजार जना प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारीमा जोडिन सक्नेछन् ।
हाल परियोजना निर्माणकै क्रममा २ सय जना बढी कामदारहरुले रोजगारी पाएका छन् । परियोजना सञ्चालन पश्चात ३ सय जनाले औपचारिक हिसाबले काम गर्नेछन् । ५ सय जना भन्दा बढी स्वव्यवसायमा संलग्न हुन सक्नेछन् भने करिब २ सय भन्दा बढी मानिसले अप्रत्यक्ष रुपमा रोजगारी पाउनेछन् ।
केवलकार २०८० वैशाख २५ गतेदेखी परीक्षण सञ्चालन हुनेछ भने जेठबाट व्यवसायिक रुपमा संचालनमा आउने छ । त्यस्तै मंसिरबाट होटल सहितका सम्पुर्ण पूर्वाधारको निर्माण सम्पन्न गरी सञ्चालनको तयारी गरिएको छ । परियोजनाले क्षमताका आधारमा स्थानीयलाई रोजगारीमा प्रथामिकता दिने योजना बनाएको छ ।
परियोजनालाई आवश्यक पर्ने विभिन्न तह र सीप भएका स्थानीय युवाहरुले रोजगारीको अवसर पाउने शर्माले जानकारी दिए । सर्वसाधारणको लगानीमा निर्माण हुने परियोजनाको मुख्य उद्देश्य ‘स्थानीयको आर्थिक समृद्धिमा टेवा पु¥याउने पनि हो त्यसैले हरेक कुरामा पहिलो प्रथामिकता त्यही ठाउँका मान्छेलाई हुन्छ’ उनले भने ।
बन्दीपुर गाउँपालिका–४, ठुलढुङ्गा देखि बन्दीपुर बरालथोकसम्म १ हजार ७ सय मिटर केवलकार चल्नेछ । केवलकारमा ‘आरकेडी समूह’ अन्तर्गतका कम्पनी आरकेडी रियल होल्डिंग लि.,पन्चासे केबुलकार एण्ड टुर्स लि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड मुख्य लगानीकर्ता र ३ हजार ७ सय जना बढी लगानी प्रबद्र्धकहरु रहेका छन् ।












