चन्द्रावती पुगेर खनालले भनेः ‘जन्मस्थानको माटो छोएर भन्छु, एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिन’

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २७

नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदबार सर्वेन्द्र खनाल सोमबार बिहान भानु नपा–६ स्थित चन्द्रावती पुगे । चुनावी अभियानको क्रममा सोमबार देवघाट जाने कार्यक्रम रहेपनि चन्द्रावतीका बासिन्दाको अनुरोधमा खनाल देवघाट जाने कार्यक्रमलाई केही समय पर सार्दै बिहान ८ बजे नै चन्द्रावती पुगे । खनाल आउने जानकारी पाएका चन्द्रावतीका बासिन्दा एक घन्टा अघि देखी नै उनको प्रतिक्षामा बसेका थिए ।

भानु नपा वडा नम्बर ६ को सिम्पानीमा जन्मिएका खनालले आफ्नो जन्मस्थान आउन पाउँदा निकै खुसी लागेको बताए । कहिले कुल देवताको पुजामा, कहिले आफन्त भेट्न तथा कहिले प्रहरी अधिकृतको रुपमा कामको शिलशिलामा पटक–पटक चन्द्रावती आउन पाउँदा आफ्नै घरमा आएको झैं लाग्ने खनालले बताए । यस अघि प्रहरी महानिरिक्षक हुँदा इलाका प्रहरी कार्यालयको भवन शिलान्यास गर्न खनाल चन्द्रावती आएका थिए । खनालकै पहलमा चन्द्रावतीमा प्रहरीको सुविधा सम्पन्न भवन निर्माण भईसकेको छ ।

यस अघि विभिन्न योजना दिन चन्द्रावती आएको भन्दै खनालले यसपटक भने माग्न आएको बताए । देश बनाउने अभियानमा चन्द्रावतीबासीको भोट माग्न आएको भन्दै उनले यस भेगका मतदाताको भोट पाउनु आफ्नो नैसर्गिक अधिकार भएको बताए । ‘तपाईहरुको छोरो भोट माग्न आएको छ, खनालले भने कृपया रित्तो हात नपठाउनु होला ।’

खनालले आफ्नो जन्मभुमी तनहुँ जिल्लालाई सर्वाेत्कृष्ठ बनाउने अठोट लिएको बताए । ‘तनहुँ जिल्लालाई सर्वोत्कृष्ट बनाउन सक्छु भन्ने अठोट लिएर राजनीतिको मैदानमा आएको छु ।’ उनले भने ‘कसैले त भन्छन्, व्यक्तिगत लाभका लागि आयो, तर मैले त यो देशका लागि यो देशको झण्डा फर्फराउने, देशको सान राख्ने काम गरेको छु । अहिले योजनाका हिसाबले म यो गर्छु भनेर कोही आउनुहोला ।’ उनले भने मैले अहिलेसम्म जे जति काम गरे राष्ट्रको हितमा गरेको छु, अव जिल्ला बनाउने गरि काम गर्नेछु ।’

‘मचाहिं जे राम्रो देख्छु त्यो गर्नका लागि अघि सर्ने मान्छे हुँ’ खनालले भने ‘को आयो भनेर धेरै सरोकार राख्दिन, मैले राख्नुपर्ने के छ भने नेपालीको मनमनमा, हरेक नागरिकलाई शिरमा राखेर अघि बढ्नुपर्छ । प्रहरीमा हुँदा पनि जनतासँगै बसेर काम गर्नुपर्छ भनेर जनतासँग मिलेर काम गरेको मान्छे हुँ, को को आउनुभयो जनताले चिन्नुहोला नि ।’

आफ्नो जन्मभूमिमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने अवसर नेकपा एमालेले दिएको र तनहुँवासी र समग्र नेपालको सेवा गर्ने अवसर पुनः एकपटक प्राप्त गरेको भन्दै खनालले जहाँ रहे पनि आफ्नो भावना तनहुँसँग जोडिएको बताए । ‘विगतमा विभिन्न सिलसिलामा आइयो, जागिरको सन्दर्भमा पनि आइयो । अवकाशपछिको अवस्थामा पनि मैले नागरिक र देशको सेवा गरिरहेको हुन्थें, अब अर्को फिल्ड (राजनीति) बाट सेवामै समर्पित होऔं भन्ने भावनाले यहाँ आएको हुँ’ उनले भने ।

आफ्नै ठाउँमा सेवाको अवसर पाउँदा मलाई गर्वको अनुभूति भइरहेको भन्दै उनले भने ‘केही गरौं भन्ने भावना पनि छ, मर्दासम्म जीवनभर निरन्तर यसैमा लागिरहौं भन्ने हो । मेरो अनुभव र अहिलेसम्मको विज्ञताले जे गर्न सक्छु, राष्ट्र र नागरिकका लागि गरें, अब भोलिका दिनमा पनि विकास, समृद्धिका मुद्दाहरू र मानव विकासका मुद्दाहरुमा काम गर्नेछु ।’ खनालले भने ‘यो जन्मस्थानको माटो छोएर भन्छु, एक रुपैयाँको पनि भ्रष्टाचार गर्ने छैन, र भ्रष्टाचारीको दोहोलो काट्ने खालको कानुन बनाउने छु ।’

नेपालको प्रजातन्त्रको लडाईमा आफ्नो परिवारको महत्वपुर्ण भुमिका रहेको भन्दै खनालले आफ्नो बुवा केदारनाथ खनाल जयतु संस्कृतम आन्दोलन मार्फत प्रजातन्त्रको संघर्षमा होमिएको बताए । ‘मेरो बुवाले प्रजानन्त्रको लडाईमा र दाई रविन्द्र खनालले पन्चालत विरुद्धको लडाईमा होमिनु भयो’ खनालले भने मैले ३० वर्ष नेपाल प्रहरी मार्फत राष्ट्र र राष्ट्रियताको संरक्षणको संघर्षमा ज्यानको बाजी थापेर होमिएँ ।’ ‘मेरो अगाडी कसैले पनि आफुलाई प्रजतान्त्र र लोकतन्त्रको मसिहा नठानोस् ।’ उनले भने ।

कार्यक्रममा नेकपा एमालेकी केन्द्रिय सदस्य भगवती न्यौपानेले उपनिर्वाचनले राष्ट्रवादीहरुको जित हुने बताईन् । अहिले विभिन्न नाममा र विभिन्न आश्वासन लिएर उम्मेदबारहरु घर घरमा आएको भन्दै खनालले त्यस्ता तत्वहरुलाई जनताले चिन्नु पर्ने बताईन् । नेकपा एमालेले जितेमा मात्र देश बच्ने र नेपालीको स्वाभिमान बच्ने उनले बताईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को