दमौली, बैशाख १४
व्यास नपा–२ दमौली स्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको २८ औं महिनामा नै आफ्नो सेवा क्लाउड वेसबाट सुरु गरेको छ । शेयर सदस्यहरुले जम्मा गरेको रकमलाई पारदर्शी र सुरक्षित राख्न बैशाख १३ गते बुधबारदेखि क्लाउड वेस सेवा जडान गरिएको सहकारी संस्थाले जनाएको छ ।
लेखासम्बन्धि सम्पूर्ण विवरण राख्नका लागि वित्तिय क्षेत्रमा अत्याधुनिक र सुरक्षित प्रविधि नै क्लाउड वेस सेवा हो । यो सेवालाई नेपालीमा इलेखा प्रणाली भनेर समेत भनिन्छ । कार्यालयका सबै वित्तिय विवरण इन्टरनेटमा सुरक्षित राखिने भएकोले प्रकोपजन्य दुर्घटनाबाट कन्युटर लगायत सबै काजगात नष्ट भएपनि विवरणहरु भूउपग्रहमा सुरक्षित रहने भएकोले आफूहरुले यो सेवा विस्तार गरेको उद्यमशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विकल्प श्रेष्ठले बताए ।
‘हामीले शेयर सदस्यको बचतलाई सुरक्षित र वित्तिय विवरणलाई चुस्त, दुरुस्त राख्न यो सेवा शुरु गरेका हौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘यो सेवा जडान गरेपछि उद्यमशील सहकारीमा रहेको रकम सदस्यहरुले अन्य बैंकमा समेत सजिलै ट्रान्सफर गरी नेपालभरीबाट झिक्न सकिन्छ । त्यसैले सदस्यहरुलाई सेवा दिने उद्धेश्यले क्लाउड वेश सेवा जडान गरेका हौं ।’
स्थापनादेखि नै उद्यमशील सहकारी संस्थाले मोवाइल बैंकिङ सेवाबाट खानेपानी, विजुली लगायतको विल मोवाइलबाटै तिर्न सकिने सेवा प्रदान गर्दै आएको सहकारीका सचिव पूर्ण विकेले बताए ।
सहकारी संस्थामा चैत्र मसान्तसम्ममा ३ सय शेयरबाट २ करोड ६ लाख ८० हजार ३ सय रुपैंयाँ शेयर पुँजी र कुल ४ करोड ३९ लाख ३९ हजार ८ सय ७० रुपैंयाँको वित्तिय कारोवार गरेको सहकारी संस्थाका व्यवस्थापक सन्दिप गुरुङले बताए । सहकारी संस्थाले सर्वसुलभ व्याजमा सदस्यहरुलाई सेवा दिदैं आएको समेत व्यवस्थापक गुरुङले जानकारी दिए ।