देवघाट, बैशाख १७
देवघाट गाउँपालिकाको आयोजनामा महिलाहरुको लागि व्युटिसियन तालिम आयोजना गरिएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत देवघाट गाउँपालिकाको आयोजना र एपेक्स म्यानेजमेन्ट तथा लुम्बिनी पोलिटेक्नक इन्स्टिच्युटको सहकार्यमा उक्त तालिम आयोजना गरिएको हो ।



सो तालिमको उद्घाटन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गाउँपालिका भित्र महिला उद्यमीहरु उत्पादन गर्ने उद्देश्यले १ महिने ब्युटिसियन तालिमको आयोजना गरिएको बताए । तालिम लिएका महिलाहरुले तालिमबाट प्राप्त सिपको उपयोग गरि आत्मनिर्भर उद्यमी बन्नु पर्ने अध्यक्ष थापाले बताए ।
गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले गाउँपालिकाले सम्मुन्नत देवघाट निर्माणका निम्ति धेरै तालिमको आयोजना गर्दै आएको बताए । उनले महिलालाई सक्षम र व्यवसायी बनाउनको लागि यो दुई तालिम आयोजना गरिएको जानकारी गराउदैँ उक्त तालिमले महिला दिदिबहिनीलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले ब्युटिसियन तालिमले उद्यमी बन्न निकै सहयोग गर्ने बताए ।
देवघाट गाउँपालिकाले महिलाहरुलाई दुई समुहमा विभाजन गरि एक समुहलाई पाँच दिने दुना टपरी तालिम र अर्काे समुहलाई १ महिने व्युटिसियन तालिम दिएको हो । व्युटिसियन तालिम आईतबारबाट सुरु भएपनि दुना टपरी तालिम भने बैशाख २६ गतेबाट सुरु हुने गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्तले बताए ।
वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवरको अध्यक्षता सम्पन्न भएको उक्त तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका प्रशासन शाखा प्रमुख गोविन्द पौडेल, वडा नम्बर ३ का अध्यक्ष टेक बहादुर आले, वडा नम्बर २ का अध्यक्ष मीन बहादुर राना, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुभद्रा भट्टराई, लेखापाल सन्जय शर्मा लगाएतको उपस्थिति रहेको थियो ।