भानु, बैशाख १७
तनहुँको भानु नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाले जग्गाको वर्गीकरण सहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक प्रसाद खतिवडाका अनुसार चैत्र २४ गतेको स्थानीय भू–उपयोग परिषद बैठकले भानु नगरपालिकाको भू–उपयोग कार्यविधि २०७९ पारित गरेको छ । नगरपालिकाले १३ वटै वडाको जग्गा वर्गीकरण गरी मालपोत कार्यालय तनहुँमा बुझाएको छ ।
भू–उपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९ अनुसार जग्गा वर्गीकरण गरी आइतवार मालपोत कार्यालय र नापी कार्यालयलाई कित्ताकाट वर्गीकरण पुस्तक हस्तान्तरण गरेको नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।
नियमअनुसार भानु नगरपालिकाको जग्गालाई कृषि क्षेत्र, आवासीय, व्यावसायीक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज, वन क्षेत्र, नदी–खोला तथा सिमसार क्षेत्र, सार्वजनिक क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र अन्य क्षेत्रमा वर्गीकरण गर्नुपर्ने उल्लेख छ । सोहि अनुसार नगरपालिकाले कृषि क्षेत्र, आवासीय, व्यावसायीक क्षेत्र, औद्योगिक क्षेत्र, वन क्षेत्र, नदी–खोला तथा सिमसार क्षेत्र, सार्वजनिक क्षेत्र र सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्रमा वर्गीकरण गरिएको नगरपालिकाले जनाएको छ । जग्गाको वर्गिकरण गर्दा ऐन र नियमावली, नापी विभागको भूउपयोग योजना र स्थानीय आवश्यकताको आधार बनाईएको नगरपालिकाकी उप प्रमुख उमा गोतामेले बताईन् ।
कृषि क्षेत्र अन्तरगत अन्नबाली, दालहन, तेलहन लगाएतका बाली लगाइएको क्षेत्र र बाँझो तथा भविश्यमा खेती हुने क्षेत्र रहेका छन् भने आवास क्षेत्र अन्तरगत डुम्रे बेशीशहर राजमार्गको मापदण्ड भन्दा बाहिर दायाँ बायाँ ५०÷५० मिटर, अन्य भित्रि सडकको मापदण्ड भन्दा बाहिर ४०÷४० मिटर दायाँबायाँ र आवास गरिरहेको क्षेत्र रहेका छन् । भानु नगरपालिकाले आफ्नो क्षेत्र भित्र ८ क्षेत्रमा वर्गिकरण गरी नगरपालिकाको राजपत्रमा उल्लेख गरिएको छ ।
वर्गीकरण सहितको प्रतिवेदन पारित गरेसँगै अब वडा कार्यालयले कित्ताकाटका लागि सिफारिस प्रदान गर्नेछ । जग्गाको वर्गीकरण गरिएपछि रोकिएको कित्ताकाट खुलाउन मालपोत कार्यालय तनहुँलाई पत्राचार गरीएको नगरपालिकाका प्रमुख त्रिपाठीले जानकारी दिए ।