काठमाडौं, बैशाख १९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही सरकार रहँदासम्म देश टाट पल्टिने बताएका छन् ।
काठमाडौंमा आयोजित पार्टीको मिशन ग्रासरुट अभियानको समीक्षा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिलेको सरकार रहिरहे देश टाट पल्टिने बताएका हुन् । उनले डेढ वर्षभित्र ओरालो लागेको अर्थतन्त्र फर्काउन नसकिए देश असफल राष्ट्र बन्ने बताए ।
‘यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ । देश टाट पल्टिदैछ । तर एउटा उद्योगपति, जो सत्तापक्षीय उद्योगपति उसको ४० अर्ब खुद नाफा एक वर्षमा । एउटा व्यक्तिले चालिस अर्ब थप कमायो । सम्पत्ति बढायो चालिस अर्ब । देशमा अहिले स्थानीय तहमा समपूरक बजेट ५० प्रतिशत भन्दा बढि पठाउन सक्दिन भनेर सरकारले लत्तो छोडिसक्यो’ उनले भने ।
उद्योगहरु प्राय बन्द रहेको र निर्माण व्यवसाय ध्वस्त भएको भन्दै ओलीले सत्तारुढ गठबन्धनलाई मुलुकको चिन्ता नभएको आरोप लगाए । ‘अब डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा फर्काउन सकिएन भने, ओरालो लागेको स्थितिलाई रोक्न सकिएन भने फेरि मुश्किल हुन्छ, देश असफल राष्ट्र बन्ने खतरा हुन्छ’ ओलीले भने, ‘यहाँ यत्तिकै हाहाहुहुँ गरेर कुद्नेहरु, २/४ ढुंगा हानेर कुद्नेहरु, तिनलाई देशको के मतलब’
मुलुकमा पैसा नभएकै कारण औपचारिक माध्यमबाट आयात कम भइरहेको भन्दै उनले अनौपचारिक माध्यमबाट सामान आयात हुँदा भन्सार राजस्व कम उठेको बताए ।
‘भन्सार, कर, राजस्व वृद्धि हुनुपर्ने ठाउँमा कम भइराखेको छ । राजस्व कम यो लामो समयपछि भइरहेको छ । तीव्र गतिका साथ अर्थतन्त्र माइनसमा गइरहेको छ । त्यसकारण अर्थतन्त्र संकटमा छ । देश संकटमा छ’, उनले भने ।
‘अहिले मूल्यवृद्धिबाहेक केही बढेको छैन। सबै डामाडोल छ । देश ध्वस्त हुने स्थितिमा छ। सत्तासीन दलहरू सत्ता भागवण्डामै रमाइरहेका छन्। अरू पनि लाइनमा लागेका छन् ।’ ओलीले भने, ‘प्रदेश र स्थानीय तहको समपुरक अनुदान ५० प्रतिशत कटौती गरिसकेको छ । अब स्थानीय स्तरमा विकास निर्माण गराएको पैसा स्थानीय र प्रदेश सरकारले कसरी तिर्ने’
देश आर्थिक रुपमा टाट पल्टँदै गर्दा सत्तापक्षीय उद्योगपतिले ४० अर्ब नाफा कमाएको भन्दै ओलीले कटाक्ष गरे । उनले मुलुकमा आइपर्ने आर्थिक संकट पार लगाउन एमालेले मात्रै सक्ने जिकिर पनि गरे ।