दमौली, बैशाख २०
बन्दिपुर गाउँपालिका–५ आँधिखोला स्थित पृथ्वीराजमार्गमा बुधबार बिहान ट्रक पल्टिएर घरमा ठोकिँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दिपुर गाउँपालिका–१ का १२ बर्षिय आयुस भुजेल, सोही ठाउँका ५० बर्षिय चेत बहादुर घर्ती र ६९ वर्षिय सन बहादुर भुजेल रहेका छन् । उनीहरुको उपचारको क्रममा चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा मृत्यु तथा घाइते भएका सबै बन्दिपुर गाउँपालिका वडा नम्बर १ का हुन् ।



सो दुर्घटनामा ५ जना घाईते भएका छन् । घाइते हुनेमा बन्दिपुर गाउँपालिका–१ की ६ बर्षिया आयुसा भुजेल, सोही ठाउँका १० बर्षिय जस्मिन भुजेल, १० बर्षिय इश्वर भुजेल, ८ बर्षिय समिर भुजेल र ५ बर्षिय सन्तोष भुजेल रहेका छन् । घाइतेहरुको पनि पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।
डुम्रे तर्फबाट मुग्लिन तर्फ जादै गरेको ना ४ ख १९७३ नम्बर को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमायाकान भुजेल र सन बहादुर भुजेलको घरमा ठोक्किएको थियो । बालबालिकाहरु विद्यालय जाने तयारी गरिरहेको समयमा सो दुर्घटना भएको थियो । दुर्घटनाको बिषयलाई लिएर पूर्ण रुपमा बन्द रहेको पृथ्वी राजमार्ग २ बजेबाट सुचारु भएको थियो ।
घाईतेहरुको तत्काल उद्दार गरी उपचारको लागी हार्डजोर्नी अस्पताल आबुँखैरेनीमा प्राथमिक उपचार पश्चात थप उपचारको लागी चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुर पठाईएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी मोहनबहादुर खाँणले बताए ।












