देवघाट अनलाईन
चितवन वैशाख २२ ।



उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ । भरतपुरमा आजबाट शुरु भएको सातौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्घाटन कार्यक्रममा मन्नी रिजालले उक्त कुरा बताउनुभएको हो ।
कार्यक्रममा मन्त्री रिजालले कोभिड–१९ सङ्क्रमण, युक्रेन र रसियाको युद्धका कारण समस्या देखिएको बताउँदै उद्योगीको समस्या समाधानका लागि सरकारले बजेटमा विभिन्न कार्यक्रम ल्याउन लागेको बताउनु भएको थियो । उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले चितवनका उद्योगीहरुको छाता संस्थाको रुपमा रहेको चितवन उद्योग संघको आयोजना, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवद्र्धनमा प्रदर्शनी सञ्चालनमा आएको हो ।
प्रर्दशनीमा नेपाली उद्यमीहरुलाई नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशिलतामा प्रोत्साहन गर्ने चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताउनु भयो । नयाँ प्रविधि हस्तान्तरणको वातावरण सृजना हुने कँडेलको भनाई छ ।
वैशाख २४ गतेसम्म हुने प्रदर्शनीमा देशका विभिन्न जिल्लाका तथा विदेशी स्टलहरु समेत १५० भन्दा बढी स्टलहरु रहेका छन् । जसमा औद्योगिक मेशिनरी, प्रविधिसहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ, प्याकेजिङ, प्लास्टिक, फुड एण्ड बेभरेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादनको प्रदर्शनीमा राखिएको छ ।