पोखरा, बैशाख २८
पोखरा महानगरपालिका–१२ ले आमा समुहका प्रतिनिधिहरुलाई तालिम दिएको छ । वडा कार्यालयले आमाहरुको नेतृत्व विकास गर्ने उद्देश्यले वैशाख २८ र २९ गते नेतृत्व विकास तथा उद्घोषण कला तालिम प्रदान गरेको हो । पोखरा महानगरापालिका–१२ को आयोजना तथा सामुदायिक केन्द्रको सह आयोजनामा वडाका आमाहरुलाई दुई दिनसम्म तालिम दिइएको हो । तालिममा कसरी बोल्ने, बोल्दा कसरी प्रस्तुत हुने, लगायतका विषयमा प्रशिक्षण गराइएको पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले बताइन् ।
पछिल्लो समय पोखरा–१२ नम्वर वडा कार्यालयले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । यस अगाडि जनप्रतिनिधि र कर्मचारीलाई पनि तालिम प्रदान गरिसकेको छ । महिलाहरुको नेतृत्व विकासको लागि तालिमले सहयोग पुग्ने सामुदायिक सेवा केन्द्रका अध्यक्ष मीरा आचार्यले बताइन् । तालिममा सहभागी भएका महिलाहरुले बोल्न खोज्दा अफ्ठेरो महसुस हुने, कसरी बोल्ने, बोल्दै गर्दा अकमकिने जस्ता समस्या आफुहरुलाई देखिने गरेको गुनासो गरेका थिए ।
आमाहरुको बोल्ने कलाको विकास गर्न वडा कार्यालयले तालिम संचालन गरेको वडाध्यक्ष सन्तोष वास्तोलाले बताए । पछिल्लो समय आमाहरुको सक्रियता बढ्दै गएको छ । सबै आमाहरुको बोल्ने कलाको विकास पनि भएको छैन । कतिपय बोल्न खोज्दा डर लाग्ने, लाज मान्ने लगायतका समस्या भएको पाइन्छ । ‘त्यसैले आमाहरुलाई पनि तालिम दिएर सजिलै बोल्न सक्ने बनाउनको लागि उद्घोषण तालिम दिएका हौ । तालिमले उहाँहरुको बोल्ने कलामा विकास हुने विस्वास गरेका छौ,’ उनले भने । तालिममा करिव ६० जना आमाहरुको सहभागीता रहेको थियो ।