अपाङ्गता मैत्री घिरिङ गाउँपालिका, सबै शाखामा ब्रेल संकेत, अपाङ्गता सहायता कक्ष सन्चालन

Devghat Online

शेयर गरौ

दमौली, बैशाख २९

घिरिङ गाउँपालिकाले कार्यपालिकाको विभिन्न शाखामा ब्रेल लिपिको संकेत राखेको छ । दृष्टि विहिन सेवाग्राहीले ब्रेललिपिको सहायताले नै शाखाहरुको पहिचान गर्न सकुन भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए ।

गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, लेखा शाखा तथा अन्य सबै शाखाहरुमा सेवा लिन आउने दृष्टि विहिन सेवाग्राहीले शाखाको ढोकामा टाँस गरिएको ब्रेल संकेतको आधारमा सम्बन्धित शाखामा जान सक्ने प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेलले बताए ।

विशेषगरि दृष्टिविहिन भएका सेवाग्राहीलाई गाउँपालिकाको सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले यस्तो व्यवस्था गरिएको पोखरेलले बताए । गाउँ कार्यपालिकाको बडापत्र पनि ब्रेल लिपिमा तयार भईरहेको प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताए । दृष्टिविहिन सेवाग्राहीले सेवा लिने क्रममा धेरै समस्या झेल्न परेको गुनासो आएपछि ब्रेल संकेत राखिएको पोखरेलले बताए । ब्रेल संकेत पाएपछि अहिले भने सेवा लिन उनीहरुलाई सहज भएको पाएको उनले बताए ।

दृष्टिविहिन सेवाग्राहीकोलागि राखिएको ब्रेल संकेत छामेर शाखा पत्ता लगाउँदै दृष्टिविहिन कृष्णप्रसाद अधिकारी

तनहुँ नेत्रहिन संघका पुर्व अध्यक्ष कृष्णप्रसाद अधिकारीले तनहुँका सबै स्थानीय तह मध्येमा घिरिङ गाउँपालिका अपाङ्गता मैत्री रहेको बताए । उनले दृष्टि विहिनलाई शाखाहरुमा ब्रेल संकेत मात्र नभई, कार्यपालिकाको सबै कोठा तथा शाखाहरु अपाङ्गता मैत्री रहेको बताए ।

गाउँपालिकामा आएर ब्रेल संकेत छोएपछि कुन शाखा हो भनेर चिन्न सहज भएको अधिकारीले बताए । ‘हाम्रो अनुरोधलाई गाउँपालिकाले सुन्यो’ अधिकारीले भने ‘अहिले हामीजस्ता दृष्टिविहिनहरुलाई सहज भएको छ ।’ आफुहरुको मागलाई गाउँपालिकाले सम्बोधन गरेको उनले बताए । त्यस बाहेक अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष तथा अन्य सबै शाखाहरुमा पनि ह्विल चेयरको माध्यमबाट सजिलैसँग जान सकिने अधिकारीले बताए ।

अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा प्रवाहमा पहुँच स्थाापित गर्न अपाङ्गता भएका व्यक्तिहरु समेत सहभागी रहेको गाउँपालिका स्तरीय लेखाजोखा केन्द्र पनि स्थापना गरिएको पोखरेलले बताए । उक्त लेखाजोखा केन्द्र मार्फत अपाङ्गता भएका व्यक्तिहरु लक्षित विभिन्न कार्यक्रम सन्चालन हुने गर्छ । त्यसबाहेक गाउँपालिकाले २ वर्ष देखी अपाङ्गता सहायता कक्ष पनि सन्चालन गरिरहेको छ । उक्त कक्षमा अपाङ्गता भएका व्यक्तिलाई नै कर्मचारीको रुपमा राखी सेवा लिन आएका अन्य अपाङ्गता भएका व्यक्तिहरुलाई सबैखाले सहयोग गर्ने काम भईरहेको पोखरेलले बताए ।

 दृष्टिविहिन सेवाग्राहीको लागि राखिएको ब्रेल संकेतको बारेमा जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल

गाउँपालिकाका सबै नागरिहरुले गाउँपालिकाको सेवा सहज रुपमा लिन पाउन भन्ने उद्देश्यले कार्यपालिकाको बैठकले नै निर्णय गरेर ब्रेल संकेत, ब्रेल लिपिको बडापत्र तथा अपाङ्गता सहायता कक्ष सन्चालन गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले जुनसुकै प्रकारका अपाङ्गता भएका नागरिकले सहयोगी कर्मचारीको साथमा आफैले ह्विल चेयरको प्रयोग गरि अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतलाई भेट्न सक्ने अध्यक्ष थापाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू