दमौली, असार ७
व्यास नगरपालिकामा क्रियाशिल राजनीतिक दलहरुले व्यास नपा २ स्थित गणेशमान चोकको जिल्ला समन्वय समितिको जग्गामा रहेको व्यवसायीक सटरहरुमा पुनः टेन्डर नगरि रमणीय पार्क बनाउन जिल्ला समन्वय समितिसँग आह्वान गरेका छन् ।
नेकपा एमाले व्यास नगर कमिटिका कार्यवहाक अध्यक्ष तुल्सीराम पाण्डेको संयोजकत्वमा विहिबार व्यास नगरमा क्रियाशिल राजनीतिक दलका प्रमुखहरुले जिल्ला समन्वय समितिका प्रमुखलाई ज्ञापनपत्र बुझाई जिल्ला समन्वय समितिको स्वामित्वको उक्त जग्गामा असार ३१ गतेबाट पुनः टेन्डर आह्वान नगरि उक्त स्थानलाई खाली गरि पार्क अथवा अन्य यस्तै संरचना बनाउन माग गरे ।
उक्त ज्ञापनपत्रमा जिल्ला समन्यव समितिको साविक फराकचौर ९÷ग कित्ता नम्बर १६३७ को गणेशमान चोकको जग्गामा २०६९ असार ३१ गते सम्झौता गरि साउन १ गतेदेखी लागु हुने गरि गरिएको जग्गा भाडा सम्झौता ५ वर्ष पुरा भई थप ३÷३ वर्ष समेत गरि २ पटकको सम्झौता पनि यही आउँदो असार ३१ ग्ते सकिने हुँदा जिल्ला समन्वय समितिलाई उक्त जग्गामा पुनः टेन्डर नगर्न र गुणस्तरीय र सु व्यवस्थित गर्नकोलागि जनभावना अनुसार अगाडी बढ्न राजनीतिक संयन्त्रको तर्फबाट माग गरिएको छ ।
उक्त ज्ञापनपत्रमा नेकपा एमालेका कार्यवहाक नगर अध्यक्ष तुल्सीराम पाण्डे, नेपाली काँग्रेसका व्यास नगर सभापती सुर्यचन्द्र हड्खले, नेकपा माओवादी केन्द्रका नगर उपसभपाती गोपाल सुर्खाली, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि चुडामणी दाहाल, नेकपा एकिकृत समाजबादीका मंगलप्रसाद श्रेष्ठ, नेकपाका ओमविक्रम पन्त, राप्रपाका नगर अध्यक्ष आईतबहादुर घले, जसपाका चुडाराम परियार र नेकपा क्रान्तीकारीका कृष्णकान्त श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
सो ज्ञापनपत्र बुझ्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरणम वाग्लेले यस विषयमा राजनीतिक दल तथा नगरवासीको माग प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताए । दमौली ट्रेड सेन्टरको बारेमा दमौलीबासीले चासो देखाउनु स्वभाविक भएको भन्दै वाग्लेले यस विषयमा नगरवासी तथा राजनीतिक दलसँग खुल्ला छलफल गर्न आफु तयार रहेको बताए । उनले उक्त जग्गा खाली गरेर के काममा उपयोग गर्ने बारेमा विकल्पहरु प्रस्तुत गर्नु पर्ने भन्दै यसबारेमा अझ छलफलको आवश्यकता भएको बताए ।
विगतमा उक्त जग्गा भाडामा लगाईएको भएपनि जिससलाई न्युनतम रकम भाडा आएको र पुरानो सम्झौता अनुसार ११ वर्ष पुरा भएको हुँदा अव त्यहाँको सबै भौतिक संरचना जिससको स्वामित्वमा आएको हुँदा त्यसबाट प्राप्त हुने मासिक लाखौं रुपैयाँको आम्दानी जिल्लाबासीकै आम्दानी हुने प्रमुख वाग्लेले बताए । तर मासिक लाखौं रुपैयाँ भाडामा आउने भौतिक संरचना मासेर के गर्ने भन्ने उचित विकल्प दिनु पर्ने वाग्लेको भनाई छ ।
यसबारेमा जिल्ला सभाले निर्णय गर्नु पर्ने भन्दै वाग्लेलले हिजोको दिनमा भाडामा लगाउँदा जिससलाई भन्दा एउटा व्यक्तिलाई फाईदा पुगेको तर अब आउने आम्दानी जिससलाई मात्र प्राप्त हुने र त्यो रकम जिल्लाको विभिन्न विकास निर्माणको लागि खर्च हुने बताए ।
यसैविच व्यास नपा वडा नम्बर २ का बासिन्दाले पनि विहिबार जिल्ला समन्वय समितिका प्रमुखलाई भेटी उक्त जग्गामा पुनः टेन्डर आह्वान नगर्न ध्यानाकर्षण गराएका छन् । नारा जुलुस सहित जिल्ला समन्वय समिति पुगेका वडावासीहरुले उक्त जग्गा खाली गरेर व्यवस्थित हरियाली पार्क बनाउनु पर्ने माग गरे । उनीहरुले पुनः टेन्डर आह्वान गरिए वडाबासीहरुले त्यसलाई कार्यान्वयन हुन नदिने चेतावनी समेत दिए ।