दमौली, असार ११
तनहूँको व्यास नगरपालिकाले लम्पी स्किनविरुद्ध दुई हजार १ सय गाईभैसीमा खोप लगाएको छ । पछिल्लो समय जिल्लाभर गाईभैसीमा लम्पी स्किनबाट संक्रमित हुन थालेपछि नगरपालिकाले संक्रमण भएको ठाँउहरुमा गई खोप लगाउन सुरु गरेको छ ।
३ हजार खोप खरिद गरेकोमा २ हजार १ सय खोप लगाईसकेको र लगाउने कार्य जारी रहेको नगरपालिकाको पशुपंक्षी विकास उपशाखाका पशु विकास अधिकृत डा.मनोज विश्वकर्माले जानकारी दिए । उनले भने, ‘संक्रमण देखिएको ठाँउ र आसपासमा कृषकको गोठमै पुगेर खोप लगाउन सुरु गरेका छौं, अहिले संक्रमण फैलन धेरै कम भईसकेको छ ।’
पशुमा पूर्ण खोप कार्यक्रमअन्तर्गत नगरपालिकाको वडामा खोपकर्ताको रुपमा खटिएका भेटेरिनरी प्राविधिकलाई पुनः यस आकस्मिक अवस्थामा खोप लगाउन परिचालित गरिएको उनले बताए । उनले भने, ‘यो खोप सङ्क्रमित पशुलाई लगाउने होइन, स्वस्थ पशुलाई रोगबाट बचाउनका लागि लगाउने हो ।’
डा.विश्वकर्माले गाईभैंसीमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप लगाइदिने गरेको बताए । उनले दिएको जानकारी अनुसार अहिले सम्म ९० वटा गाईभैसीमा संक्रमण देखिएको थियो भने ६ वटा गाईभैसीको मुत्यु भएको छ । उक्त रोगबाट धेरै जसो व्यास १ चारकुने, व्यास १३ बेलबास, पोखरीभञ्याङ, व्यास ११ फराकचौर र व्यास ७ मा गाईभैसी संक्रमित भएको पशु विकास अधिकृत विश्वकर्र्माकाले बताए । लम्पी रोगका कारण पशुको मृत्यु नै हुने अवस्था नरहेको भएतापनि उच्च ज्वरो आउँदा उपचार नपाएर मर्न पनि सक्ने उनको भनाइ छ ।
गर्मी मौसममा टोक्ने झिङ्गा, लामखुट्टे, किर्नाजस्ता किराको सख्ंया बढी हुने तथा थप सक्रिय हुने हुनाले यस रोगको प्रकोप बढी देखिने उनले बताए । उनका अनुसार यो रोग देखिएपछि दूध उत्पादनमा गिरावट आउनुका साथै प्रजनन समस्या आउने तथा गर्भपतन हुनसक्ने सम्भावना रहन्छ ।