समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई देवघाटले कालो सूचीमा राख्यो

Devghat Online

शेयर गरौ

दमौली, असार १२

समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई देवघाट गाँउपालिकाले कालो सूचीमा राखेको छ । देवघाट गाँउपालिकाले वडा नम्बर १ र ३ मा पर्ने घण्टाचुली पर्यटन पूर्वाधार आयोजनाको ठेक्का लिएको मृत सञ्जिवनी–शिवशक्ति ईको जेभीलाई पटक–पटक ताकेता गर्दासमेत कार्य सम्पन्न नगरेपछि कालो सूचीमा राखेको हो ।

देवघाट गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले मृत सञ्जिवनी–शिवशक्ति ईको जेभीलाई सम्झौता अनुसार कार्य सम्पन्न गर्न पटक–पटक पत्राचार, मौखिकरुपमा भनिएको र प्राविधिक प्रतिवेदन अनुसार कार्य प्रगति नदिएकोले उक्त कामको ठेक्का लिने कम्पनीसँग ठेक्का सम्झौता तोड्ने निर्णय गरिएको बताए ।

कार्य सम्पन्न गर्ने अन्तिम मिति यही असार २८ गते भएकोले सो समय पछि म्याद थप नगर्ने, ठेक्का तोड्ने र बैंक ग्यारेन्टी जफत गरी गाउँपालिकाको खातामा जम्मा गर्नेगरी निर्माण ब्यवसायीलाई कालोसूचीमा राखिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।

घन्टाचुली मन्दिर

घन्टाचुली क्षेत्रमा पर्यटकीय क्षेत्र निर्माणकोलागि निर्माण व्यववसायीसँग भएको सम्झौता अनुसार गाउँपालिकाले निर्माण कम्पनीलाई पेश्की रकम दिएपनि निर्माण कम्पनीले कुनै काम गरेन । देवघाट गाउँपालिकाले घन्टाचली पर्यटकीय क्षेत्र विकास परियोजनामा मुल्य अभिवृद्धि कर सहित २ करोड ९४ लाख २३ हजार ८९६ रकममा मृत संजिवनी शिवशक्ति इको जेभीसँग सम्झौता गरेको थियो ।

उक्त सम्झौत अनुसार २०७८ असार २९ गतेदेखी काम सुरु भई २०८० असार २९ सम्म सम्पन्न गरिसक्नु पर्ने थियो । सो कम्पनीलाई २०७८ असोज १४ गते २६ लाख र माघ २६ गते २४ लाख गरि ५० लाख रुपैयाँ गाउँपालिकाले पेश्की दिएको थियो ।

तर निर्माण कम्पनीले हालसम्म कुनै पनि काम गरेको छैन । महालेखा परिक्षकको कार्यालयको आर्थिक वर्ष ०७८÷०७९ को वार्षिक प्रतिबेदनमा उक्त कम्पनीले कार्यतालिका अनुसार कुनै पनि काम नगरेको उल्लेख गरिएको छ । अनुगमनमा उक्त कम्पनीले कुनै भौतिक तथा वित्तिय प्रगति नगरेको हुँदा सो कम्पनीलाई बुझाएको पेश्की रकम फिर्ता लिन महालेखा परिक्षकको कार्यालयले देवघाट गाउँपालिकालाई निर्देशन दिएको छ ।

गाउँपालिकाले पटक पटक निर्माण कार्य गर्न गरेको ताकेताको कुनै वास्ता नगरेपछि ठेक्का तोडेर निर्माण कम्पनीलाई कालो सुचिमा राखिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू