भरतपुर, भदौ ४
‘अक्सफोर्ड कलेजको बस गाँजा खाएर चलाएको पुष्टि’ शीर्षकको समाचारलाई लिएर कलेजका सन्चालकहरुले चितवनबाट प्रकाशित हुने चितवन पोष्ट दैनिक र नारयणी अनलाईनको कार्यालयमा पुगेर सन्चारकर्मीलाई धम्की दिनुका साथै कार्यालयभित्रै हुलहुज्जत गरेका छन् । उक्त दुई सन्चार माध्यममा प्रकाशित समाचारलाई लिएर कलेज सन्चालकहरुले हुलहुज्जत र धम्की दिएका हुन् ।
गत साउन ३१ गते अक्सफोर्ड कलेजको बसले टिकौली जंगलमा छ वटा सवारी साधनलाई ठक्कर दिँदा २० जना घाइते भएका थिए । बस चालकको स्वास्थ्य परीक्षण गर्दा गाँजा खाएको पुष्टि भएको थियो । सोहि समाचारको विषयमा अक्सफोर्ड कलेजले सोमबार केहि युवाहरु परिचालन गरि धम्की दिएको ति सन्चार माध्यमले जनाएका छन् । उक्त घटनालाई लुकाउन कलेज सञ्चालक हरि भण्डारीका छोरा रोहन भण्डारीसहितको टोलीले चितवन पोष्ट र नारयणी अनलाइनको कार्यालयमा घुसेर धाकधम्की दिनुका साथै हुलहुज्जत गरेको हो ।
घटनापछि चितवन पोष्ट दैनिक र नारायणी अनलाइनले छुट्टाछुट्टै विज्ञप्ति जारी गरि समाचारको विषयमा सञ्चारमाध्यममै घुसेर हुलहुज्जत गरेर सञ्चारकर्मीलाई आतंकित पारिएको जनाएको छ । समाचार सत्यतथ्य हुँदाहुँदै पनि सञ्चारमाध्यमको कार्यालयमै आई धाकधम्की दिँदा असुरक्षित महसुस भएको चितवन पोष्ट दैनिकका प्रबन्ध निर्देशक गोविन्द अर्यालले बताए ।
‘समाचार माथि चित्त नबुझे कानुनी प्रक्रियामा जान सकिने अवस्थामा पनि सञ्चार माध्यमको कार्यालयमा आई धाकधम्की एवम् चेतावनीपूर्ण भाषा बोल्नुलाई स्वतन्त्र पत्रकारितामाथि धावा बोलेको हाम्रो ठम्याइँ छ’, विज्ञप्तिमा भनिएको छ । अक्सफोर्ड कलेजका प्रिन्सिपल समेत रहेका भण्डारीले जारी गरि आफ्नो बस चालकले लागु पदार्थ सेवन नगरेको दाबी गरेका छन् ।
यसैगरि नारायणी अनलाइन डटकममा सोमबार प्रकाशित ‘गैंडाकोटको अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना’ शीर्षकको समाचारको विषयलाई लिएर अक्सफोर्ड कलेजका सञ्चालक हरि भण्डारीका छोरा रोहन भण्डारी सहितको टोलीले अनलाइनको कार्यालयमा पुगेरै गुण्डागर्दी शैलीमा पत्रकार सञ्चारकर्मीहरुलाई आतंकित पार्ने काम गरेको छ ।
यस घटनाप्रति नारायणी अनलाइनले गम्भीर ध्यानाकर्षण र भत्र्सना गरेको छ । अनलाइनले एक विज्ञप्ती जारी गर्दै आजको घटनाले सञ्चारमाध्यमलाई आतंकित बनाउने र पत्रकारलाई हतोत्साहित बनाउने कार्य भएकोले सुरक्षाको प्रत्याभूति दिलाइदिनु हुन जिल्ला प्रशासन कार्यालय चितवन समक्ष आग्रह गरेको छ ।
विज्ञप्तीमा भनिएको छ– ‘जिल्ला प्रहरी कार्यालय चितवन र चितवन मेडिकल कलेजको आधिकारिक सूचनाको आधारमा नारायणी अनलाइनले प्रकाशित गरेको समाचार माथि चित्त नबुझे कानुनी प्रक्रियामा जान सकिने अवस्थामा पनि सञ्चार माध्यमको कार्यालयमा आई गुण्डागर्दी शैलीमा धाकधम्की एवम् चेतनावनीपूर्ण भाषा बोल्नुलाई स्वतन्त्र पत्रकारितामाथि धावा बोलेको हाम्रो ठम्याइँ छ ।’
‘समाचार सत्यतथ्य हुँदाहुँदै पनि सञ्चारमाध्यमको कार्यालयमै आई धाकधम्की दिनुले हामी असुरक्षित महसुस गरेका छौँ । हामी नागरिकलाई सुसूचित गराउने कार्यमा यस्ता धाकधम्कीबाट कत्ति पनि विचलित हुने छैनौं । थप तथ्य र प्रमाण सहित समाजमा भएका बेथितिविरुद्ध कलम चलाउन हामी प्रतिवद्ध छौं । नारायणी अनलाइनले गैंडाकोट नगरपालिकाले गरेको अनुगमनको भिडियो सामग्री र गैंडाकोटको ट्राफिक प्रहरीले गरेको अनुगमनको भिडियोलाई समेत कपोकल्पीत भन्दै अक्सफोर्ड कलेजबाट परिचालित भएका अराजक समूहले मिडियामाथि धम्की दिएको छ । भिडियोमा प्रष्ट देखिएको दृश्यलाई समेत झुटो भन्दै उल्टै गालीगलौजमा उत्रनुले कलेजको चेतनास्तर प्रष्ट पार्छ ।’ विज्ञप्तिमा भनिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बस चालकको स्वास्थ्य रिपोर्टमा गाँजा खाएको पुष्टि भएको बताए । ‘बस चालकको रिपोर्टमा गाँजा खाएको पुष्टि भएको छ । रगतमा देखिने भएकाले केहि दिनअघिसम्मको पनि देखिन्छ’, उनले भने, ‘घटनाको विषयमा थप अनुसन्धान हुँदै छ ।’