कालिका, भदौ ८
चितवनको कालिका नगरपालिकाले नगरक्षेत्र भित्र स्थायी बसोबास गर्ने आर्थिक तथा सामाजिक रुपमा विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गर्ने नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने तयारी थालेको छ ।
नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै समावेश गरि ‘नगर प्रमुख विपन्न स्वास्थ्य बीमा कार्यक्रम’ लाई कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउन लागेको हो । कार्यान्वयनको पहिलो चरणमा नगरक्षेत्रभित्र रहेका स्वास्थ्य वीमा अभिकर्ताहरुसँग छलफल गरेको छ ।



यसै सन्दर्भमा शुक्रबार ‘नगर प्रमुख विपन्न स्वास्थ्य बीमा कार्यविधि २०८०’ अभिकर्ताहरुको जिम्मेवारी र दायित्वको विषयमा छलफल भएको थियो । यो कार्यक्रमका लागि नगरपालिकाले यो आर्थिक वर्षका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यो आर्थिक वर्षमा करिब १ हजार विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गर्ने लक्ष्य रहेको कालिका नगरपालिका अन्तर्गत स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए । स्वास्थ्य बीमामा आवद्ध हुन इच्छुक लाभग्राहीले आफु र आफ्नो परिवार आर्थिक रुपमा विपन्न रहेको स्वघोषणागर्दै सम्बन्धित टोल विकास संस्थाको सिफारिस लिएर सम्बन्धित वडा कार्यालयमा आवेदन दिनुपर्ने व्यवस्था छ ।
प्राप्त निवेदनको आधारमा आवश्यकता अनुसार स्थलगत जाँचबुझ समेत गरी वडा समितिको बैठकले निर्देशक समितिलाई सिफारिस गरेको आधारमा स्वास्थ्य बीमामा आवद्ध हुन सक्ने कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद उपाध्यायले बताए । ‘बीमामा लाग्ने शतप्रतिशत शुल्क नगरपालिकाले व्यवस्थापनगर्ने छ’ उनले भने ।

परिवारको कुनै सदस्य सरकारी सेवामा रहेको, अन्य कुनै कार्यक्रमबाट बीमा सुविधा लिइरहेको, परिवारको कुनै सदस्य वैदेसिक रोजगारी वा विदेशमा बसोबासमा रहेको, परिवारको सदस्य दक्ष श्रमगर्ने नियमित प्रकृतिको स्थायी जागिरमा रहेका , घरबास बाहेक पाँच कठ्ठा भन्दाबढी जग्गा रहेको व्यक्ति वा परिवारले नगर प्रमुख विपन्न स्वासथ्य बीमा कार्यक्रममा आवद्ध हुने पाउने छैनन् ।
यो कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि नगर प्रमुख संयोजक रहनेगरी निर्देशक समिति गठनगर्ने तयारी छ । समितिमा नगर उप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सबै वडा अध्यक्ष, नगर अस्पतालप्रमुख सदस्य रहनेछ ।
यो कार्यक्रमलाई प्रभावकारी कायान्वयनका लागि प्रत्येक टोल विकास संस्थालाई समेत जिम्मेवारी दिनेगरी कार्यविधि तयार गरिएको छ । बीमा कार्यक्रममा आवद्ध हुन निवेदकको आर्थिक, सामाजिक अवस्थ बुझेर आवश्यक कागजात समेत संलग्न राखी वडा कार्यालयमा सिफारिसगर्ने, चालु अवधिमा स्वास्थ्य बीमा कार्यक्रमा आवद्ध भए नभएको यकिनगर्ने, आफ्नो टोलमा आर्थिक रुपमा विपन्न तथा कमजोर टोलबासीलाई कार्यक्रमको बारे जाकनारी दिने तथा आवद्धहुनका लागि सहजीकरणगर्ने अधिकार टोल विकास संस्थालाई दिने कार्यविधिमा उल्लेख छ ।

लक्षित वर्गले यो कार्यक्रमवाट लाभ लिन सक्नेगरी सहजीकरणमा जुट्न सरोकारवालाहरुलाई नगर प्रमुख विनोद रेग्मीले निर्देशन दिए । ‘जो परिवार विपन्न छ त्यो परिवारमा पुग्नुस’ उनले भने ‘विपन्न परिवार नछुटोस ।’
कालिकामा ७ जना बीमा अभिकर्ताहरु छन् । उक्त
कार्यक्रममा कार्यपालिका सदस्यहरु, बीमा अभिकर्ताहरु, नगर उपप्रमुखको उपस्थिती थियो । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।











