मस्र्याङ्दी कोरिडोर क्षेत्रका स्थानीय तहमा भएका असल अभ्यास आदान प्रदान गर्ने र साझा समस्या तथा चुनौतीहरु ब्यवस्थापन समझदारी

Devghat Online

शेयर गरौ

दमौली, भदौ २३

गण्डकी प्रदेशको मस्र्याङ्दी कोरिडोर आसपास क्षेत्रका स्थानीय तहहरुमा भएका असल अभ्यास आदान प्रदान गर्ने र आई परेका साझा समस्या र चुनौतीहरुलाई ब्यवस्थापन गर्ने स्थानीय तहहरु बीच समझदारी भएको छ ।

तनहुँको भानु नगरपालिका, बन्दिपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिका, गोर्खाको पालुङटार नगरपालिका, लमजुङको बेशीशहर, सुन्दरबजार र राईनास नगरपालिका गरी ८ वटा स्थानीय तहमा भएका असल अभ्यासहरुलाई अर्को स्थानीय तहले अनुशरण गर्ने र कोरिडोरमा भएका साझा समस्या एवं चुनौतीहरुलाई एक आपसमा समन्वय र सहकार्य गर्ने समझदारी भएको हो ।

तनहुँको भानु नगरपालिकाको कार्यालय फुस्रेटारमा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीको संयोजकत्वमा शुक्रबार भएको कोरिडोरका स्थानीय तहहरुको अन्तर पालिका समन्वय बैठकले उक्त समझदारी गरेको भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकार पौडेलले जानकारी दिए ।

बैठकले मस्र्याङ्दी कोरिडोर आसपास क्षेत्रका स्थानीय तहहरुको समिति संयोजकमा तनहुँको भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीलाई चयन गरेको छ ।

त्यसैगरी समितिको सदस्यहरुमा गोरखा पालुङटार नगरपालिकाका प्रमुख विवस चिन्तन, तनहुँको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान र बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापालाई चयन गरेको छ ।

त्यसैगरी लमजुङको बेसीशहर नगरपालिका उपप्रमुख पदमा गुरुङ्ग, राइनस नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेल र सदस्य सचिवमा तनहुँको भानु नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेललाई चयन गरेको छ । भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सात सदस्यीय कार्य समिति चयन गरेको हो ।

उक्त बैठकले डुम्रे बेसीशहर सड़क खण्ड दुईतर्फी गरी निर्माण गर्न र पृथ्वीराजमार्गको भानु–आँबुखैरेनी सडक खण्डको निर्माण कार्य द्रुत गतिमा अगाडि बढाउन नेपाल सरकारसँग सबै पालिकाको प्रतिनिधी मण्डल अनुरोध गर्न जाने निर्णय गरेको छ ।

मस्र्याङ्दी कोरिडोर भित्रका आठ वटै पालिकामा विद्युत पटक पटक जाने समस्याको समाधान गर्न सब–स्टेशन स्थापना र प्रशारण व्यवस्था गर्न नेपाल विद्युत प्राधिकरणसँग प्रतिनिधी मण्डल गई अनुरोध गर्ने निर्णय गरेको छ । मस्र्याङ्दी कोरिडोर भित्रका स्थानीय तहमा भएका असल अभ्यासहरुको एक आपसमा आदान प्रदान गर्ने निर्णय गरेको छ । र मस्र्याङ्दी कोरिडोरका स्थानीय तहहरु बीच अन्तरपालिका समन्वय बैठक ३÷३ महिनामा पालैपालो गरी बस्ने निर्णय भएको छ । अबको बैठक बन्दिपुर गाउँपालिकामा मिति २०८० साल मंसिर १५ गते शुक्रबार दिउँसो १ बजे बस्ने निर्णय भएको समितिका सदस्य सचिव दिवाकर पौडेलले जानकारी दिए ।

कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले मस्र्याङ्दी कोरिडोर प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक हिसाबले पनि महत्वपूर्ण स्थान रहेकाले यहाँ पर्यटन, कृषि, जलविद्युत, औधोगिक लगाइतको प्रचुर संभावना बोकेको क्षेत्र भएकाले यस क्षेत्र भित्रका स्थानीय तहहरुबीच सहकार्य गरी विकासको लागि नमूना क्षेत्र बनाउन सकिने भएकाले साझा धारणा बनाउन कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

बेसीशहर नगरपालिकाका मेयर गुमानसिँ अर्यालले छिमेकी पालिका बीच समन्वय र सहकार्य हुन जरुरी रहेको भन्दै फोहोर ब्यवस्थापनमा समस्या रहेको बताए । सुन्दरबजार नपाका प्रमुख कृष्णप्रसाद कोईरालाले कोरिडोर क्षेत्रलाई नमूना शहरको रुपमा विकास गर्न सकिने भन्दै सबैको सहकार्यको खौचो रहेको औंल्याए । साथै औधोगिक ग्राम निर्माण, जल विहार लगाएत पर्यटकीय गतिविधिहरुलाई महत्व दिनु पर्नेमा जोड दिए ।

राईनास नगरपालिकाका मेयर खड्ग बहादुर गुरुङले अन्तर पालिका बीच असल अभ्यासको अनुशरण गर्नु पर्ने, कृषि र पर्यटनको विकासको लागि अग्रशर हुनु पर्ने बताए । भानु नगरपालिकाकी उप प्रमुख उमा गोतामेले मस्र्याङ्दी कोरिडोर अन्तरगत रहेका साझा समस्या र चुनौतीहरुलाई सामना गर्न एक आपसमा हातेमालो गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्णचन्द्र देवकोटाले मस्र्याङ्दी कोरिडोरलाई नमूनाको रुपमा विकास गर्न सकिने बताए । उनले मस्र्याङ्दी नदी र चेपे खोलाको पानीको उपयोगीताको बारेमा चर्चा गर्दै कृषि, साहित्य, पर्यटनमा जोड दिनु पर्ने बताए ।

कार्यक्रममा बेसीशहर नपाकी उप प्रमुख पदमा गुरुङ, सुन्दरबजार नपाकी उप प्रमुख भवानी केसी, सुन्दरबजारका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, आँबुखैरेनी गापाका–३ का वडा अध्यक्ष दिनेश केसी, भानु नपाका वडा वडा अध्यक्षहरु, शिक्षा शाखा प्रमुख धु्रबराज पौडेल लगाएतको सहभागिता रहेको भानु नपाका प्रशासन शाखा प्रमुख कृपाहरी लौडारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ५ देवघाट गाउँपालिका–५ मा श्रीहरिहर सन्यास आश्रमले सन्चालन गरेको परमानन्द संस्कृत गुरुकुल

आबुँखैरेनीका विभिन्न योजनाको लागि बजेट छुट्याउन अर्थमन्त्रीको ध्यानाकर्षण

तनहुँ । बैशाख ५ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरी आगामी

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले