हरिबोधिनी एकादशीमा तनहुँका दुई स्थानीय तहमा बिदा

Devghat Online

शेयर गरौ

दमौली, मंसिर ६

विहिबार हरिबोधिनी एकादशी (तुलसी विवाह) का अवसरमा तनहुँका दुई स्थानीय तहले विहिबार स्थानीय बिदा दिएका छन् । शुक्लागन्डकी नगरपालिका र आवुँखैरेनी गाउँपालिकाले स्वास्थ्य संस्थामा अत्यावश्यक सेवा बाहेक अन्य सम्पुर्ण सेवामा बिदा दिएको जनाएका छन् ।

शुक्लागन्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले सुचना प्रकाशन गरि हरिबोधिनी एकादशीको अवसरमा स्थानीय बिदा दिने निर्णय भएको जनाएका छन् । बिदाका दिन पालिका र पालिका मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था, विद्यालय बन्द रहने सूचनामा उल्लेख गरिएको छ । शुक्लागन्डकी नगरपालिकाको पुल्चोकमा हरिबोधिनी एकादशीमा मेला लाग्ने गर्छ ।

त्यसैगरि आवुँखैरेनीको वडा नम्बर १ को आँधिमुलमा एकादशी मेला लाग्ने हुँदा कार्यपालिकाको कार्तिक १४ गतेको निर्णय अनुसार स्थानीय बिदा दिईएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताएका छन् ।

तनहुँको शुक्लागन्डकीको पुल्चोक र आबुँखैरेनीको आँधिमुल बाहेक व्यासको देउराली नगर, राजापानी महादेवको मन्दिर, देवघाट, घिरिंग, बन्दिपुरको सेराटार, आबुँखैरेनीकै अकला लगायतको स्थानमा पनि ठुलो मेला लाग्ने गर्छ ।

हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ । आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु हरिबोधिनी एकादशीको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ । यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ ।

चार महिना अघि अर्थात् आषाढशुक्ल एकादशीको दिन (चतुर्मासको आरम्भमा) आ आफ्नो घरमा रोपिएको तुलसीलाई यो पर्वमा विशेष पूजा गरी पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ । भोलिपल्ट द्वादशीको दिन तुलसीको विशेष पूजनसँगै नवान्न (नयाँ अन्न) को हवन गरी चतुर्मास भरि विष्णु वा विष्णु प्रियाको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गरिन्छ । हरिबोधनी अर्थात ठूलो एकादशी पर्वमा हिन्दू धर्मावलम्बीहरूले ब्रत बसी भगवान नारायणको पूजाअर्चना गरी मनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू