दमौली, मंसिर ६
तनहूँको म्याग्दे गाउँपालिकामा चालु आर्थिक वर्षको प्रधानमन्त्री रोगजार कार्यक्रम कार्यान्वयन भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको शसर्त अनुदानबाट सञ्चालन भईरहेको प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयन म्याग्दे गाउँपालिकामा शुभारम्भ भएको हो ।
चालू आ.व. २०८०÷०८१ मा म्याग्दे गाउँपालिकाको वेरोजगारको सूचीमा सूचीकृत भएका ३१७ जना मध्ये ६८ जना व्यक्तिहरू न्यूनतम रोजगारीमा संलग्न हुने भएका छन् । युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजनाबाट ४० जना र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २८ जना गरि जम्मा ६८ जनाले रोजगारी प्राप्त गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
न्यूनतम रोजगारी सृजना गर्नका लागि म्याग्दे गाउँपालिकाले सडक यातायात, पर्यटन प्रबद्र्धन, खानेपानी तथा सरसफाई लगायतका क्षेत्रमा योजनाहरू तर्जुमा गरेको छ । रोजगारी सृजनाका लागि तय गरिएका आयोजनाहरूलाई गुणस्तरीय तथा उपलब्धिमुलक बनाउनका लागि आयोजनाहरू साझेदारीमा सम्पन्न गरिने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।
उक्त कार्यक्रम अन्तर्गत विहिबार वडा नम्बर ७ का का रोजगारीका लागि सुचिकृत व्यक्तिहरुकोलागि अभिमुखीकरण कार्यक्रम आयोजना गरियो । वडा अध्यक्ष वसन्त कुमार श्रेष्ठको अध्यक्षता सम्पन्न सो कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत अधिकारी तथा गाउँपालिकाका रोजगार संयोजक पविन्द्र शाहीले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
सो कार्यक्रममा कार्यस्थलमा सुरक्षा प्रदान गर्नका लागि पालिकाको आफ्नो आन्तरिक स्रोतबाट सुरक्षा सामाग्री क्रमशः हेलमेट, एप्रोन, पञ्जा र गमबुट प्रदान गरिएको थियो । रोजगार संयोजक शाहिका अनुसार ६८ जना सुचिकृत व्यक्तिहरुले न्यूनतम रोजागारीमा संलग्न भएवापत जनहि ६६,८०० प्राप्त गर्ने छन् ।