कहिले तयार हुन्छ देवघाट जोड्ने ठिमुराको पुल ?

Devghat Online

शेयर गरौ

माघे संक्रान्तिसम्म यातयात सन्चालन गर्ने तयारी

देवघाट, मंसिर १३

चितवनको भरतपुर महानगरपालिका–१ को ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार जोड्ने त्रिशुली नदीको मोटरेवल पुल निर्माणको लामो समय भईसक्दा समेत अझै सम्पन्न भएको छैन । ठेकेदारको लापरवाहीको कारणले पटक–पटक क्षतिग्रस्त भएको पुल अहिले निर्माणको अन्तिम चरणमा आएर पुनः रोकिएको छ ।

८.५ मिटर चौडाइ र २२० मिटर लामो उक्त पुल हाल ढलान भईसकेर पनि पहुँच मार्ग तयार नभएको अवस्थामा अलपत्र अवस्थामा रहेको छ । एक दशक अघिदेखी निर्माण सुरु भएको उक्त पुल समयमा निर्माण सम्पन्न नहुँदा राज्यको करोडौं रकम अलपत्र रहेको छ । साथै क्षेत्रका नागरिकहरु पनि पुल उपभोग गर्नबाट बन्चित भएका छन् । पुलको पहुँच मार्ग तयार नगर्दा पैदल हिडडुल गर्न बाहेक मोटरसाईल र साईकल आवत जावत गर्न पनि कठिनाई भएको छ । त्यसबाहेक पुलको साइडबार पनि लगाउन र अन्य धेरै काम पनि बाँकी रहेको छ ।

बुधबार पुलको अनुगमन गर्दै घिनाटार पक्कीपुल निर्माण उपभोक्ता समितिका संयोजक टंकनाथ पौडेलले उक्त पुल निर्माण कार्यलाई तत्कालै एक हप्ता भित्र चासो नदिए कानुनी निकाय समक्ष जाने बताए । उक्त पुलको भरतपुर तर्फको भागमा ठुलो खाल्डो रहेको हुँदा कुनै पनि समयमा दुर्घटना हुन सक्ने, मान्छे हिड्दा तल खस्न सक्ने जोखिम रहेको भन्दै पौडेलले अब एक हप्ता भित्रमा उक्त खाल्डो पुरेर सहज नबनाईए सडक डिभिजन कार्यालय प्रमुख, प्रमुख जिल्ला अधिकारी समक्ष जाने पौडेलले बताए ।

उक्त पुललाई आगामी माघे संक्रान्तिमा उद्घाटन गर्ने आफुहरुको योजना रहेको भन्दै पौडेलले त्यस अघि नै पुलमा यातयात सन्चालन गर्ने गरि आफुहरुले चासो दिईएको बताए । माघे संक्रान्तिमा स्नान गर्न आउने तिर्थयात्रीहरू लाई यसै पुलबाट चालु गर्ने र माघे संक्रान्ति सम्ममा पुलको उद्घाटन गर्ने उद्देश्यले अगाडि बढेको पौडेल जानकारी दिए । पुलको उपभोक्ता समितिको बुधबार बैठक बसेर पुल सिघ्र निर्माण सम्पन्न गर्न सडक डिभिजन कार्यालयमा ज्ञापनपत्र बुझाईएको पौडेलले बताए ।

देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले जतिसक्दो चाँडो पुलको आवश्यक संरचना तयार गरि यातयात सन्चालन गर्नु पर्ने बताए । लामो समयदेखी पुल अलपत्र हुँदा नागरिकहरुले धेरै दुख पाएको वडा अध्यक्ष कुँवरले बताए ।

उक्त पुल बनाउन २०७१ कात्तिक २० मा तीनवटा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । निर्माणको ठेक्का इलाइट, एडभेन्चर र इन्द्रेणीले संयुक्त रूपमा लिएका थिए । सम्झौता अनुसार तीन वर्षभित्र (२०७४ कात्तिक १९) मा पुल बन्नुपर्नेमा पटक पटक म्याद थपेर पछिल्लो पटक काम सक्नुपर्ने समयसीमा २०७८ असार १२ सम्म तोकिएको थियो । तर अन्तिम पटक थपिएको अवधिको दुई वर्ष पुरा भईसक्दा पनि उक्त पुल अझै तयार भएको छैन । पुल सम्झौता हुँदा पुलको निर्माण लागत १९ करोड १० लाख रुपैयाँ रहेकामा अहिले बढेर २१ करोड ६८ लाख पुगेको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । उक्त पुलमा कंक्रिटका ४०÷४० मिटरका तीनवटा र स्टीलको एउटा ८० मिटरको स्पान रहन्छ ।

दुई पटक पुल भत्किँदा तिन जनाको मृत्यु

ठेकेदारको लापरवाहीको कारण उक्त पुल निर्माणको क्रममा दुई पटक भत्किएको थियो । पुल भत्कँदा ३ जना मजदुरको मृत्यु भएको थियो । पहिलो पटक २०७७ चैत २४ गते विहान पुल भत्किएको थियो । सो क्रममा कुनै मानवीय क्षती भने भएन । दोश्रो पटक २०७८ बैशाख १२ गते पुल भत्कँदा ३ जना मजदुरको नदीमा डुबेर मत्यु भएको थियो । मजदुरले काम गरिरहँदा एक्कासी पुल भत्किएको थियो, सो क्रममा मजदुरहरु नदीमा खसेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव, एकै दिन बन्दिपुरमा हजारौं पर्यटक

बन्दिपुर, बैशाख १ नेपाली नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारबाट सडक खाना महोत्सव