दमौली, मंसिर २१
म्याग्दे गाउँपालिकामा विहिबारदेखी पाँचौ राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ विद्यालय स्तरीय उक्त प्रतियोगिता सुरु भएको हो ।
उक्त प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरे । सो अवसरमा अध्यक्ष श्रेष्ठले यस प्रतियोगिताले स्थानीय तहमा खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताए । स्वस्थ नागरिक उत्पादन गर्नकोलागि पनि खेलकुँद आवश्यक भएको भन्दै अध्यक्ष श्रेष्ठले गाउँपालिकाले शिक्षा र खेलकुँदको लागि पनि आवश्यक बजेट विनियोजन गरेको बताए ।
गाउँपालिकाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा आयोजित सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, गाउँ कार्यपालिका सदस्य जानकी थापा, मिन मावि थर्पुका प्रअ राजेन्द्र भण्डारी, रत्न माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर गुरुङ, नेकपा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष बालकृष्ण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक मनोज अधिकारी लगायतले मन्तव्य राखेका थिए ।
आगामी पुस ९ र १० गते हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि खेलाडी छनोट गर्न र जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी गराउन गाउँपालिका स्तरीय प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका शिक्षा तथा खेलकुँद शाखाका प्रास महेश भट्टराईले जानकारी दिए । प्रतियोगितामा भलिबल, कबड्डि र एथलेटिक्स जस्ता खेल हरु हुने भट्टराईले जानकारी दिए । प्रतियोगिता मंसिर २३ गतेसम्म सन्चालन हुनेछ ।