देवघाटका विभिन्न वडामा करोडौंको सुन्तला उत्पादन, पुल नहुँदा रोपवेबाट सडकसम्म झारिँदै

Devghat Online

शेयर गरौ

प्रकाशचन्द्र भट्टराई । देवघाट, मंसिर २३

देवघाट गाउँपालिकाका विभिन्न वडामा यस वर्ष करोडौंको सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादनमा देवघाट नेपालमै प्रख्यात मानिन्छ । यहाँ उत्पादित सुन्तला सिधै काठमाडौंको कालिमाटी स्थित तरकारी तथा फलफुल बजारमा लगिन्छ । त्यहाँ देवघाटको सुन्तला नेपालकै उत्कृष्ट मान्दै कारोबार हुने कृषकहरुको भनाई छ ।

देवघाटको वडा नम्बर ३ को लुङग्रिङ, छिपछिपे, छापस्वरा, दगराको सुन्तला नेपालकै उत्कृष्ट सुन्तलामा गनिने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष एवं सुन्तला कृषक भिमबहादुर रानाले बताए । यसवर्ष लुङग्रिङ गाउँबाट मात्रै तिन करोड भन्दा बढिको सुन्तला निर्यात भएको रानाले बताए । विगतमा केही अन्नबाली उत्पादन नभएर भोकै बस्नु पर्ने बाध्यता भएका लुङग्रिङबासी केही वर्ष यता भने सुन्तला बेचेरै लखपती बनेको रानाले बताए । लुङग्रिङमा एकै घरबाट २० भन्दा भन्दा बढिको सुन्तला विक्री गरेको रानाले बताए । स्थानीय प्रेमबहादुर रानाले २० लाख बढिको सुन्तला विक्री गरे । अन्य कृषकले पनि लाखौं मुल्यको सुन्तला विक्री गरेको भिमबहादुरल बताए ।

बार्षिक करोडौंको सुन्तला उत्पादन भएपनि उक्त सुन्तलालाई बजारसम्म लैजान भने समस्या पर्दै आएको छ । नदी पारी रहेको लुङग्रिङ, छिपछिपे, छापस्वरा, दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशुली र सेती नदीमा पुल नहुँदा सुन्तला बजारसम्म लैजान निकै समस्या भएको रानाले बताए । लुङग्रिङ र छिपछिपेका कृषकले बुद्धसिंह मार्गको नाल्दीघाट र मुग्लिङ–नारयणगढ सडकको गाईघाटसम्म जिपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गेपुल तारेर राजमार्गसम्म ल्याउँछन् भने छापस्वारा र दगराका कृषकले भने ग्राभिटी रोपवे मार्फत बुद्धसिंह मार्गमा झारेर त्यहाँबाट दमौली हुँदै काठमाडौं लैजाने गरेका छन् ।
नाल्दी र गाइघाटमा पुल भएको भए सजिलो हुने भन्दै कृषक रानाले भने ‘पुल नहुँदा ढुवानी खर्च महंगो पर्न जान्छ ।’ नाल्दीमा पुलको योजना परेको थियो तर तनहुँ जलविद्युत आयोजनाको तल्लो सेती जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पुल पर्ने भएको कारण उक्त पुलको योजना पनि स्थगित भएको रानाले बताए ।

दगराका कृषक हरिकुमार श्रेष्ठले नदीमा पुल नभएको कारण यस क्षेत्रका जनताको ढुवानीको साधन नै रोपवे भएको बताए । ति गाउँबासीले गाउँमा उत्पादित सुन्तला, अदुवा, केरा तथा अन्य फलफुल रोपवेबाट नै राजमार्गसम्म झार्ने गरेको श्रेष्ठले बताए । साथै गाउँमा पालिएका बाख्रा, कुखुरा तथा अन्य पशुपन्छिको लागि दाना चोकर पनि रोपवेबाट नै पठाउने श्रेष्ठले बताए । दगरा र छापस्वारामा करिब ६० घरहरु रहेका छन् । ति सबै घरका जनताले उक्त रोपवेको उपयोग गर्ने उनले बताए । ‘रोपवे नभएको भए गाउँमा कोही पनि बस्थेनन् होला’ उनले भने मोटरबाटो पनि नपुग्ने र ढुवानीको अन्य माध्यम पनि नहूँदो हो त कसरी गाउँमा बस्नु ।’ ‘सेती नदीमा पुल हालेर गाउँमा मोटरबाटो नै लैजान सके सबैलाई सजिलो हुन्थ्यो’ उनले भने ‘तर मोटरबाटो नहुँदा जोखिम मोलेरै भएपनि रोपवेबाट सामान ढुवानी गर्नु परेको छ ।’ कहिलेकाँही त सामान रोपवेबाट झरेर क्षती हुने गरेको श्रेष्ठले बताए । बिचमा केही समय बन्द रहेको उक्त रोपवे हरिकुमारकै पहलमा मर्मत सम्भार गरि केही वर्ष यता सन्चालनमा ल्याईएको हो ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाट गाउँपालिका तिनतिरबाट नदीले घेरिएको भन्दै पक्की पुल नहुँदा देवघाटबासीलाई निकै गाह्रो भएको बताए । ‘देवघाटलाई तिन तिरबाट नदी ले घेरेको छ, नदीमा पुल नहुँदा ढुवानीमा समस्या भईरहेको छ’ अध्यक्ष थापाले भने ‘नाल्दीघाट, घुमाउने र गाईघाटमा पुल बन्नु पर्छ ।’ नाल्दीबाट लुङग्रिङसम्म जाने ग्रामिण सडकलाई गाउँपालिकाले सुन्तला मार्ग नामाकरण गरि बजेट विनियोजन गरेको छ । गाउँपालिकाको श्रोतले बाटो बनाएपनि पुल नहुँदा राजमार्गसम्म ल्याउन समस्या परेको अध्यक्ष थापाले बताए । यसतर्फ संघीय सरकारले यस तर्फ ध्यान दिनुपर्ने उनको भनाई छ ।

गाउँपालिका कृषक समुह गठन मार्फत अनुदान कार्यक्रम पनि सन्चालन गरेको अध्यक्ष थापाले बताए । सुन्तला उत्पादनलाई बढावा दिन सुन्तला नर्सरी स्थापना गरिएको छ । नर्सरीको लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको र काफलडाँडामा सुन्तला नर्सरी स्थापना गरिएको अध्यक्ष थापाले बताए । उक्त नर्सरीमा विरुवा उत्पादन गरेर इच्छुक किसानहरुलाई निशुल्क विरुवा वितरण गर्ने थापाले बताए । जग्गा खाली राख्ने किसानलाई गाउँपालिकाबाट प्राप्त हुने सेवासुविधाबाट वञ्चित गर्ने अध्यक्ष थापाले बताए । ‘जग्गा खाली नराख्नुहोस्, हामी तपाइँहरुलाई अनुदान दिन्छौँ’ थापाले भने ‘अरु सेवा सुविधा थप गर्दै जानेछौँ ।

देवघाटका १,२,३ र ४ का विभिन्न भागमा सुन्तला उत्पादन हुन्छ । विगतमा बारीबाटै डोकोमा बोकेर नारयणगढसम्म लैजानु पथ्र्याे तर अहिले गाउँपालिकाले गाउँमा बाटो पु¥याएको छ । तर नदीमा पुल नहुँदा राजमार्गसम्म सिधै पहुँच पुगेको छैन । पुल नहुँदा यहाँ उत्पादित वस्तु बिचौलियाको माध्यमबाट दमौली, मुग्लिन, नारायणगढ र काठमाडौँसम्म पुग्ने भए पनि घुमाउनेमा पुल नबन्दा र बाटो नहुँदा यहाँका बासिन्दाले आफूले गरेको मेहनतको उचित फल पाउन सकेका छैनन् ।

प्राक्टिल एक्सन नेपालको आर्थिक सहयोग तथा एनजिओ नेटवर्क तनहुँको प्राविधिक र समाजिक सयोगमा आर्थिक वर्ष ०६६÷६७ मा जिल्ला भर चारवटा सुधारिएको तुईन र चार वटा ग्राभिटी रोपवे निर्माण गरिएको थियो । त्यसमध्येको एक दगरा र छापस्वाँरा जोड्ने रोपवे हो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा देशभरका सबै तुईन बिस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्ने कार्यक्रम अन्तर्गत ति चारवटै तुईन विस्थापित भएर झोलुङ्गे पुल निर्माण गरिएको भएपनि चार वटा रोपवे मध्ये तिन वटा अझै पनि सन्चालनमा रहेको एनजिओ नेटवर्क तनहुँका महासचिव राजेश्वर हड्खलेले बताए ।

तत्कालिन समयमा तनहुँको कर्णाली भनेर चिनिने साविकका देवघाट, कोटा र बैदी र छिपपछिपे गाविसमा उत्पादित सुन्तला बजार सम्म झार्न र गाउँलेहरुलाई खाद्यान्न लगायतका सामाग्री गाउँमा पु¥याउन सडकको पहुँच र झोलुङ्गे पुल समेत नभएको स्थानमा ग्राभिटी रोपवे निर्माण गरिएको हड्खलेले बताए । दगराको बाहेक अन्य बाँकी दुई वटा रोपवेहरु देवघाट गाउँपालिका–१ को कोटामा र मुग्लिन–नारयणगढ सडकको पाँच किलोबाट आवुँखैरेनी गाउँपालिका जोड्ने सन्चालनमा रहेका छन् । मुग्लिन–नारयणगढ सडकको गाईघाट र देवघाट गाउँपालिका–४ काफलस्वाँरा जोड्ने रोपवे भने हाल बन्द रहेको हड्खलेले बताए । ति सबै रोपवेबाट अझै पनि गाउँका सुन्तला र अन्य उत्पादनहरु राजमार्गसम्म झार्ने गरिएको छ । (तश्विरहरु सौजन्यः विहानी मिडिया)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ५ देवघाट गाउँपालिका–५ मा श्रीहरिहर सन्यास आश्रमले सन्चालन गरेको परमानन्द संस्कृत गुरुकुल

आबुँखैरेनीका विभिन्न योजनाको लागि बजेट छुट्याउन अर्थमन्त्रीको ध्यानाकर्षण

तनहुँ । बैशाख ५ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरी आगामी

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले