दमौली, मंसिर २३
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) तनहुँको अध्यक्षमा भिम गुरुङ चयन भएका छन् । जिफन्ट गन्डकी प्रदेशको आयोजनामा शनिबार दमौलीमा सम्पन्न जिल्ला भेलाले गुरुङको अध्यक्षतामा जिल्ला समन्वय कमिटि सर्वसम्मत चयन गरेको छ ।
समन्वय कमिटिको सचिवमा ध्रुव अधिकारी तथा सदस्यहरुमा विष्णु नेपाली, बालकुमारी श्रेष्ठ, कृष्णबहादुर भुजेल, संगिता सुनार र प्रेमबहादुर थापा चयन भएका छन् ।
साथै सो कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा ‘नेपालको श्रम आन्दोलनमा कोप–१९० को सान्दर्भकिता र ट्रेड युनियनको भुमिका’ विषयक छलफल कार्यक्रम समेत आयोजना गरिएको थियो ।
जिल्ला कार्यक्रमको नेकपा एमालेका केन्द्रीय सल्लाहाकार सदस्य एकबहादुर रानाले उद्घाटन गरेका थिए । भेलामा केन्द्रीय सल्लाहाकार राना, नेकपा एमालेका नेता केदार सिग्देल, जिफन्ट गन्डकी प्रदेशका सदस्य अध्यक्ष रुद्रबहादुर खत्री, जिफन्ट राष्ट्रिय कमिटि सदस्य पम्फा पाहारी, एमाले तनहुँका सचिव राजेश्वर ढकाल, एमाले तनहुँका सचिवालय सदस्य इन्द्र थापा, जिल्ला सदस्य तथा मजदुर इन्चार्ज सोम आले, नेपाल यातयात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य विष्णुबहादुर खत्री लगायतले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यान्वयन तथा नेपालको श्रम आन्दोलनमा कोप–१९० को सान्दर्भकिता र ट्रेड युनियनको भुमिकाको बारेमा मन्तव्य राखेका थिए ।
जिफन्ट गन्डकी प्रदेशकी सहसचिव संगिता पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सन्चालन प्रदेश सचिव राजेन्द्रप्रसाद पौडेलले गरेका थिए ।