रुपन्देही र पाल्पाका जनप्रतिनिधि र व्यवसायीसँग बन्दिपुरको पर्यटनको बारेमा अन्तरक्रिया

Devghat Online

शेयर गरौ

दमौली, पुस १२

बन्दिपुरको पर्यटनको बारेमा रुपन्देही र पाल्पाका जनप्रतिनिधि र उद्योगी व्यवसायीसँग अन्तरक्रिया गरिएको छ । बन्दिपुरको पर्यटन प्रबद्र्धनको निम्ति ‘जाऔं है बन्दीपुर’ अभियान सुरु गरि आन्तरिक पर्यटकलाई बन्दिपुर घुम्न आउन निम्ता दिने उद्देश्यले रुपन्देही र पाल्पा पुगेका बन्दिपुरका जनप्रतिनिधि, व्यवसायी तथा पर्यटनविद्हरुले विहिबार बुटवल उपमहानगरपालिका तथा तानसेन नगरपालिकाका जनप्रतिनिधि तथा त्यस क्षेत्रका उद्योगी व्यवसायीहरुसँग अन्तरक्रिया गरेको छ ।

बुटवल उपमहानगरपालिकाका मेयर खिलराज पाण्डेसँगको भेटमा बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले सो उपमहानगरपालिकाको बैठक एकपटक बन्दिपुरमा राख्न अनुरोध गरे । सो अवसरमा मेयर पाण्डेले आफुले यसबारेमा कार्यपालिकाका सदस्यहरुसँग छलफल गरेर निर्णय गर्ने भन्दै बन्दिपुर आउने आफ्नो चाहाना रहेको बताएका थिए ।

त्यस्तै सोही टोलीले बुटवलमा सन्चालन भईरहेको लुम्बिनी एक्स्पो मेलामा गई बन्दिपुरको पर्यटनको बारेमा प्रचार गरिएको अध्यक्ष थापाले बताए । त्यसैगरि रुपन्देही उद्योग संघ तथा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका पदाधिकारीहरुसँग पनि छलफल तथा अन्तरक्रिया गरि बन्दिपुरको पर्यटनको बारेमा प्रचार प्रसार गरेको थियो । सो अवसरमा उद्योगी व्यवसायीलाई बन्दिपुर घुम्न आउन निमन्त्रणा दिईएको थियो ।

यसैगरि विहिबार नै पाल्पाको तानसेन नगरपालिकाका प्रमुख तथा उपप्रमुखसँग पनि अन्तरक्रिया गरिएको थियो । साथै तानसेनका पर्यटनविद्, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघहरुसँग पनि अन्तरक्रिया गरि बन्दिपुर घुम्न आउन निमन्त्रणा गरिएको थियो । बन्दिपुर गाउँपालिकाका अध्यक्ष थापाको नेतृत्वमा रहेको सो टोलीले शुक्रबार स्याङजाको वालिङ नगरपालिकामा अन्तरक्रिया गर्ने तथा पोखराको फोहोर व्यवस्थापन सम्बन्धी अवलोकन गर्ने कार्यक्रम रहेको छ । सो टोलीमा होटल व्यवसायी, पर्यटनविद तथा सन्चारकर्मीहरु रहेका छन् ।

विगतका वर्षहरुको जस्तै आन्तरिक पर्यटकको संख्या बढाउन बन्दिपुर गाउँपालिकाले ‘जाऔं हैं बन्दीपुर’ अभियान सुरु गरेको हो । गाउँपालिका अध्यक्ष थापाका अनुसार ठूला शहरबाट आन्तरिक पर्यटकलाई बन्दीपुर भित्र्याउन ‘जाऔं हैं बन्दीपुर’ अभियान देशका प्रमुख शहरमा केन्द्रित गरिएको हो । सो टोली चितवन हुँदै रूपन्देहीको बुटवल भैरहवाबाट अभियान सुरु गर्न हिँडेको पालिका अध्यक्ष थापाले बताए । पहाडकी रानीको रुपमा चिनिने बन्दिपुरको पर्यटनलाई विगतको जस्तै चलायामान गराउन अभियान चालिएको थापाले बताए ।

पृथ्वी राजमार्गको डुम्रे बजारबाट ९ किलोमिटर कालोपत्रे उकालो बाटो गएपछि सजिलैसँग बन्दिपुर पुग्न सकिन्छ । आगामी नेपाली नयाँ बर्षको अवसरमा बन्दीपुरमा वृहत सांस्कृतिक कार्यक्रम गरी नयाँ बर्ष मनाउन यसपटक बन्दीपुर जाने भन्ने अभियानलाई तीब्र पारिने गाउँपालिका अध्यक्ष थापाले बताए । गाउँपालिकाले बर्षभरि नै चलाउने यो अभियानबाट १ लाखभन्दा बढी पर्यटकलाई बन्दीपुर भि¥याउने योजना छ । गाउँपालिकाले विभिन्न पर्यटकीय केन्द्रहरुको जानकारी दिन डिजिटल क्यूआर बोर्डको समेत व्यवस्था गरेको छ । ती पर्यटकीय केन्द्रमा पुगेर क्यूआर स्क्यान गर्दा त्यसका बारेमा पूर्ण विवरणसहितको जानकारी प्राप्त हुने पालिका अध्यक्ष थापाले बताए ।

बन्दिपुर पर्यटन परिषदका पुर्व अध्यक्ष तथा होटल व्यवसायी बैंश गुरुङले जाऔं है बन्दीपुर अभियानलाई लक्षित गरेर होटल लगायतका क्षेत्रमा विषेश अफर र प्याकेजहरु घोषणा गरिने बताए । बन्दीपुरमा साना ठूला गरेर ६६ वटा होटल छन् । एक पाँच तारे होटल र केवलकार निर्माणको अन्तिम चरणमा छ । बन्दीपुरमा एक रातमा होटलमा ५ सय होमस्टेमा ४ सय जना बस्न सक्ने क्षमता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत

दमौली, असोज २ दमौलीको आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत भएको छ

आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड

दमौली, असोज २ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड प्रदान गरिएको छ

आजबाट सोह्र श्राद्ध सुरु

देवघाट, असोज २ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष