देवघाटमा अनुमती बिना मोटरबोट सन्चालन, रोक लगाउन क्षेत्र विकास समितिको निर्देशन, डुङ्गाको पनि छैन बिमा

Devghat Online

शेयर गरौ

देवघाट, पुस २०

पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा सम्बन्धित निकायको अनुमती बिना मोटरबोट सञ्चालनमा ल्याइएको छ । बोटे बोरा मोटरबोट प्रालिले सम्बन्धित निकायसँग अनुमती नै नलिईकन दुई सातादेखि देवघाटको वेणी संगम क्षेत्रमा मोटरबोट सञ्चालनमा ल्याएको हो ।

पवित्र कालिगवन्डकी र त्रिशुलीको संगम वेणीको पाँच सय मिटर वरपर मोटरबोट सन्चालन गर्न पाईदैन । उक्त नियमको उल्लंघन गर्दै देवघाट क्षेत्र विकास समितिसँग पनि कुनै अनुमती नलिईकन र आवश्यक प्रक्रिया पुरा नगरिकन मोटरबोट सन्चालन गरिएको पाईएको हो ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले क्षेत्र विकास समितिसँग अनुमती नै नलिईकन मोटरबोट सन्चालन गरेको पाईएपछि रोक्न निर्देशन दिईएको बताए । मोटरबोट सन्चालनकोलागि कुनै पनि प्रक्रिया पुरा नगरिकन सन्चालन गर्न अबैध भएको बरालको भनाई छ । बेणी संगमको पाँच सय मिटर वरपर मोटरबोट सन्चालन गर्न नपाईने नियम रहेको बरालले जानकारी दिए ।

उक्त कम्पनीले सम्बन्धित निकायसँग अनुमती नलिईकन देवघाट क्षेत्रमा छोटो र लामो दूरीमा मोटरबोट चलाएको छ । छोटो दूरीमा देवघाटधामको वेणिसङ्गमबाट नागकुण्ड, सूर्यकुण्ड, झोलुङ्गे पुल हुँदै तपोवनसम्म मोटरबोटको यात्रा गर्न सकिने छ । छोटो दूरीको शुल्क रु दुई सय ५० तोकिएको छ ।

लामो दूरीमा झण्डै आठ किलोमिटरको यात्रा गराइने छ । वेणिसङ्गमबाट गैँडाकोटको नरसिंह दिव्यधामसम्म लामो दूरीको यात्रा गराइने कम्पनीले जनाएको छ । लामो दूरीको भने हालसम्म शुल्क निर्धारण गरिएको छैन । भरतपुर महानगरपालिकाबाट स्वीकृति लिएर मोटरबोट सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

देवघाटमा चितवनबाट तनहुँतर्फ आवतजावतका लागि डुङ्गा नियमित सञ्चालनमा छन् । तर उक्त डुङ्गाहरुमा यात्रुहरुको कुनै बिमा गरिएको छैन । हालसम्म डुङ्गाको बिमा नगरिएको र अब चाँडै नै सबै डुङ्गालाई बिमाको प्रक्रियामा लगिने देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू