दमौली, पुस २२
तनहुँ क्षेत्र नम्बर १ का सांसद डा. स्वर्णिम वाग्लेले आइतबार दमौलीमा सार्वजानिक सुनुवाई कार्यक्रमको आयोजना गरे । तनहुँ क्षेत्र नम्बर १ को सांसदमा निर्वाचित भएपछि डा. वाग्लेले पहिलो पटक सार्वजानिक सुनुवाईको आयोजना गरि तनहुँ क्षेत्र नम्बर १ को विकासकोलागि हालसम्म गरेको काम र योजनाहरुको जानकारी गराएका थिए ।
सांसद वाग्लेले तनहुँ क्षेत्र नम्बर १ को विकासकोलागि आफ्नो ७ वटा मुख्य क्षेत्रहरु प्राथमिकतामा रहेको बताए । जसमा शिक्षा, स्वास्थ्य र पोषण, सडक र पुल, खानेपानी, सिंचाई र तटबन्ध, पर्यटन र स्वच्छ उर्जा, कृषि र पशुपालन अन्तिममा सांस्कृतिक सम्पदाको विकास र संरक्षण आफ्नो मुख्य प्राथमिकता रहेको बताए ।
शिक्षाको विकासको लागि शिक्षा बिधेयकलाई पुर्णता दिने बारेमा संघीय संसदमा आफुले रचनात्मक सुझाव दिँद आएको उनले बताए । तनहुँमा शिक्षाको विकासकोलागि हार्डवयेर भन्दा सफ्टवयेरमा जोड दिनु पर्ने उनले बताए । युनाईटेड वल्र्ड स्कुलको कार्यक्रम मार्फत पहिलो चरणमा तनहुँका १५ वटा विद्यालयमा नमुना कार्यक्रम सुरु हुने उनले बताए । चार वर्षको अवधिमा कम्तीमा ४० वटा विद्यालयमा शैक्षिक गुणस्तरको लागि युनाईटेड वल्र्ड स्कुलसँगको सहकार्यमा कार्यक्रम गरिने बताए । त्यस्तै साथी भन्ने गैरसरकारी संस्था मार्फत आवुँखैरेनी गाउँपालिमा शिक्षकहरुलाई राख्ने कार्यक्रम सुरु भएको उनले बताए । सरकारी श्रोत भन्दा बाहिरबाट बन्दिपुरमा राष्ट्रिय स्तरको टिचर ट्रेनिङ सेन्टर खोल्ने बारेमा आफुहले पहल गरिरहेको बताए ।
त्यसैगरि स्वास्थ्य र पोषण तर्फ धुलिखेल अस्पतालको मोडल अनुसार भानु नगरपालिकाको भन्सार क्षेत्रमा अत्याधुनिक अस्पताल सन्चालन गर्ने बारेमा छलफल भईरहेको बताए । मस्र्याङदी करिडोर क्षेत्रमा अत्याधुनिक अस्पताल खोल्ने बारेमा धुलिखेल अस्पतालको टोलीलाई ल्याएर स्थलगत अध्ययन पनि भईसकेको उनले बताए ।
साथै बन्दिपुर अस्पतालमा गाउँपालिका र डा.मदन पियासँगको छलफलमा पिपिपि मोडलमा विशिष्टिकृत अस्पताल सन्चालन गर्ने बारेमा पनि छलफल भईरहेको बताए । साथै दमौली अस्पतालमा सरकारी श्रोतबाट ५० शैया सन्चालन गर्ने बारेमा पनि आफुले केन्द्रीय स्तरमा पहल गरिरहेको वाग्लेले बताए । परोपकारी संस्था मार्फत जिल्लामा ८ वटा एम्बुलेन्स ल्याएर स्थानीय तहलाई दिने उनले प्रतिबद्धता जनाए ।
सांसद वाग्लेले बुद्धसिंह मार्गको घुमाउनेमा पुल निर्माणमा भईरहेको ढिलाई प्रति गम्भिर ध्यानाकर्षण भएको बताए । निर्माण कम्पनी मृत सन्जिवनी निर्माण कम्पनीका प्रतिनिधि र सडक विभागका प्रतिनिधिसँग पटक–पटक छलफल गरिएको भन्दै काम गर्न नसके ठेक्का तोड्ने प्रक्रिया पनि सुरु गरिने बताए । पृथ्वीराजमार्गको आबुँखैरेनी दमौली खन्डमा आगामी चैत भित्रमा एकतर्फी कालोपत्रे पुरा हुने उनले जानकारी दिए ।
तनहुँलाई आगामी वर्ष भित्र लोडसेडिङ मुक्त बनाउने गरि नेपाल विद्युत प्राधिकरणसँग पनि सहकार्य गरि सबै घरधुरीमा विद्युतीकरणको काम पनि गरिने उनले बताए । सांसद वाग्लेले जनताले तिरेको करबाट आएको विकासको योजनालाई आफुले ल्याएको भनेर सस्तो प्रचारमा आफु नलाग्ने भन्दै आफ्नो करले विकास पाउनु जनताको नैसर्गिक अधिकार भएको वाग्लेले बताए । जनताको अपेक्षालाई अन्याय नहुने गरि विकासको कामहरु गरेको छ र बाँकी चार वर्षमा थप विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा उपस्थित सहभागीहरुले विभिन्न सार्वजानिक सरोकारको विषयमा राखेको जिज्ञासाको सांसज वाग्ले, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी तथा जिल्लाका अन्य सबै सरकारी कार्यालय, आयोजना तथा संस्थानका प्रमुखहरुले प्रष्ट पारेका थिए ।