देवघाट, माघ १
मादक पदार्थ सेवन गरि देवघाट गाउँपालिका नगर (गाउँ) प्रहरी जवान बिजय थापा मगरले चलाएको मोटरसाईकले देवघाट गाउँपालिका–५ अँधेरी खोल्सी स्थित दासढुङ्गा–देवपुर सडक खन्डमा सोमबार विहान कारलाई ठक्कर दिएको छ ।
अत्याधिक मापसे गरेका गाउँ प्रहरी जवान थापाले तिब्र गतिमा चलाएको गाउँपालिकाको स्वामित्वमा रहेको ग १ त २७९ नम्बरको सरकारी मोटरसाईकलले दमौलीबाट माघे संक्रान्ति मेला भर्न देवघाट आउँदै गरेको ग ३ च ९७१७ नम्बरको कारलाई पछाडीबाट ठक्कर दिएको थियो ।
सो दुर्घटनामा कोही पनि घाइते भएनन् भने दुर्घटनामा मोटरसाईकल र कारमा क्षती भएको छ । क्षती भएको कार सम्बन्धित पक्षले बनाउने सर्तमा सो घटनामा सोमबार नै मिलापत्र भएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज कृष्णबहादुर बानियाँले जानकारी दिए ।
मोटरसाईकल चालकले मापसे गरे नगरेको बारेमा स्वास्थ्य परिक्षण गर्ने निकाय देवघाटमा नभएको हुँदा यस बारेमा आफुलाई केही जानकारी नभएको बानियाँले बताए । एक प्रतक्ष्यदर्शीका अनुसार नगर प्रहरी जवान थापा मापसेले धानिनसक्ने अवस्थामा थिएनन् ।
माघे संक्रान्ति मेलाको क्रममा देवघाट क्षेत्रमा मांस मदिरा नियन्त्रणको लागि देवघाट क्षेत्र विकास समितिले अनुरोध गरेको थियो । तर गाउँपालिकामा कार्यरत प्रहरी आफै मापसे गरेर सरकारी मोटरसाईकल दुर्घटना गराउँदा देवघाट गाउँपालिकाको यसबारेमा हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
यस अघि पनि उनै नगरप्रहरी थापाले मापसे गरेर मोटरसाईकल चलाउँदा दुर्घटनामा पारेका थिए ।