मुग्लिन–पोखरा साढे १९ किलोमिटर सडक कालोपत्र

शेयर गरौ

तनहुँ, माघ ६

मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँमा १९.५ किलोमिटर सडकखण्ड कालोपत्र भएको छ। तनहुँको आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म १९.५ किलोमिटर सडकखण्ड कालोपत्र सकिएको हो।

सडक योजना पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय, बरादी खण्डमा कालोपत्र सकिएको जानकारी दिए। त्यसमध्ये ७.२ किमी खण्डमा दुईतर्फी नै कालोपत्र सकिएको छ।

‘सबैगरी १९.५ किलोमिटर कालोपत्र भएको छ। कालोपत्रमध्ये ७.२ किमीमा दुईतर्फी कालोपत्र सकिएको छ। हाल बरादीदेखि सत्रसय जोड्ने खण्डमा कालोपत्रको काम भइरहेको छ,’ इन्जिनियर पाण्डेले भने।

त्यसपश्चात् बरादीदेखि आँबुखैरेनी गाउँपालिका चोकसम्म दुईतर्फी सडक कालोपत्रको काम हुने पाण्डेले बताए। उनका अनुसार पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ।

यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रको काम अगाडि बढेपछि यात्रामा सहजता आएको स्थानीय बताउँछन्। पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम सुरु भएको छ।

व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि रू एक अर्व २१ करोड लागतमा आर्क डिजाइनमा पुल निर्माण हुन लागेको इञ्जिनियर पाण्डेले जानकारी दिए। उनका अनुसार पुल निर्माणका लागि आवश्यक काम भइरहेको छ।

इञ्जिनियर पाण्डेका अनुसार पुलका लागि दुई सय १० पाइलमध्ये ५२ वटा पाइलको काम सकिएको छ। उनले दुई वटा फाउण्डेशनको पाइलको काम सकिएको जानकारी दिए। हाल भइरहेको पुलभन्दा केही माथि नयाँ पुल निर्माण हुँदैछ।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ। पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। ४२ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन्। पूर्वी खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको आयोजना कार्यालयले जनाएको छ। पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाखमा लागेको छ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ। डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को