देवघाट, माघ ७
देवघाट गाउँपालिका–५ को घिनटार–टाउनचोक–देवपुर सडकखण्डमा गुणस्तरहिन काम भएको भन्ने गुनासो आएपछि देबघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले अनुगमन गरेका छन् । गाउँपालिका अध्यक्ष थापा सहितको प्राविधिक टोलीले आईतबार सो सडक र सडकको किनारमा निर्माण गरिएको पक्की नालीको अनुमगन गरेका हुन् ।
अनुगमनको क्रममा एक ठाउँमा नाला मुनि माटो भासिएको र चर्किएको भेटिएको थियो । उक्त ठाउँमा खानेपानीको पाइप फुटेर माटो भासिएको र केही चिरा परेको ठाउँ पनि भेटिएको प्राविधिक टोलीले जनाएका छन् । गाउँपालिका अध्यक्ष थापाले उक्त सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीलाई तत्काल सम्पर्क गरेर बिग्रिएको ठाउँमा पुनर्निर्माण गर्न र गुणस्तरीय काम गर्न निर्देशन दिएका थिए ।
उक्त सडकमा गुणस्तरहिन निर्माणको काम भएको भेटिएको थियो । उक्त सडकमा निर्माण गरिएको पक्की नाला गुणस्तरहिन रहेको भेटिएको हो । निर्माण अवधि नसकिँदै नाला भत्किएको र कतिपय ठाउँमा जमिन भासिएको थियो ।
घिनाटार–टाउनचोक–देवपुर मार्ग स्तरोन्नती योजना अन्तर्गत जिएमआर कन्ट्रक्सन प्रा.लि माडी चितवनसँग सडक कालोपत्रे र पक्की नाला निर्माण कार्यका लागि २०७९ पुस १७ गते सम्झौता भएको थियो । प्रदेश सरकार र गाउँपालिकाको साझेदारीको उक्त योजनाकोलागि ३ करोड रुपैयाँ बिनियोजन भएको थियो ।
गाउँपालिकाका इन्जिनियर तिर्थ ढुङ्गानाले उक्त निर्माणको निरन्तर अनुगमन गरि गुणस्तरीय निर्माणको लागि सुझाव दिईने बताए ।