चितवन, माघ ७-
नारायणी नदीमा सञ्चालित क्रुजसिपमा पर्यटकको आकर्षण बढेसँगै नयाँ गन्तव्यको रुपमा विकास भएको छ ।नदीमा क्रुज सिप सयर गर्ने पर्यटकको संख्या बढ्न थालेसँगै यो नयाँ लोकप्रिय गन्तव्य बनेको हो । पर्यटकहरु यसमा सयर गरेर तस्बिर भिडियो खिच्दै रमाउने गरेका छन् । भरतपुर महानगरपालिका–१६ काभ्रेघाटमा रहेको क्रुजसिप यहाँ घुम्न आउने पर्यटकका लागि नयाँ गन्तव्य बनिरहेको छ ।राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका व्यवस्थापक सुदिप खनालले मनसुन भित्रिएसँग नदीमा आएको बाढीका कारण बन्द भएको क्रुजसिप मंसिर २१ गतेदेखि पुनः सञ्चालनमा आएको बताए । उनले क्रुजसिपले दैनिक तीन सिफ्टमा यात्रुलाई सेवा प्रदान गर्दै आएको बताए । अन्य दिनमा भन्दा सार्वजनिकक बिदाको दिनमा धेरै पर्यटक आउने गरेका र पछिल्लो दिनमा दैनिक ५० देखी ८० को संख्यामा पर्यटक आउने गरेको उनको भनाइ छ । एकपटकमा १५० जनासम्मलाई सेवा प्रदान गर्न सक्ने क्रुजमा एउटा टिकटमा एक व्यक्तिले एक घण्टा यात्रा गर्न पाउँछ । क्रुजभित्र नै रेष्टुरेन्ट सहितको सुविधा प्रदान गरिएको छ ।क्रुजसिपमा प्याकेजसहित पाँच वर्ष भन्दा कम उमेरका बालबालिकालाई निःशुल्क सेवा उपलब्ध गराइएको छ भने पाँचदेखि १० वर्षसम्मका बालबालिकाका तथा ज्येष्ठ नागरिकलाइ ३५० र अन्य समूहका व्यक्तिलाई ५०० रुपैयाँको टिकट निर्धारण गरिएको छ । जुन प्याकेज हरेक हप्ता हरेक दिन परिवर्तन हुन्छ ।
व्यवस्थापक खनालको अनुसार क्रुजमा सयर गरेर घुम्न आउने पर्यटकले आफूलाई खुबै रमाइले भएको प्रतिक्रिया दिएका छन् । यहाँ नेपालका सबै क्षेत्रबाट पर्यटक आउने गरेको र आगामी दिनमा बाह्य पर्यटकलाई पनि जोड्दै लैजाने आफूहरुको लक्ष्य रहेको उनले बताए ।
उनले भने, ‘क्रुजसिपले जिल्लामा पर्यटक भित्र्याउन निकै ठूलो भूमिका खेलेको छ । काठमाडौँबाट लुम्बिनी, पोखराबाट पूर्व जान लाग्नु भएको र चितवनको बाटो भएर अन्य स्थलमा घुम्न आउने पर्यटक पनि क्रुजमा सयर गर्न आउनु हुन्छ । साथै सौराहामा आउने बह्य पर्यटक पनि यहाँ आउनुहुन्छ । जसको कारण हामीलाई सौराहाबाट धेरै सहयोग मिलेको छ । ’खनालको अनुसार बाह्य पर्यटक क्रुजमा नाइट तथा क्यान्डिल डिनर गर्न आउने भएकोले उनीहरुको लागि ६ बजेपछिको प्याकेज तयार गरिएको छ । डिनर क्रुज तथा इभेन्ट क्रुजमा सेवाग्राहीको माग अनुसार सेवा सुविधा उपलब्ध गराइने भन्दै क्रुजमा रेष्टुरेन्टको सुविधा रहेकाले यात्रुहरुले बजारकै मूल्यमा खाजा तथा पेयपदार्थ पाउने खनालले बताए । त्यस्तै, भरतपुर भ्रमण वर्ष २०२४ मा आन्तरिक र बाह्य पर्यटक सबैलाई नयाँ प्याकेज ल्याएर क्रुजसिप सञ्चालन गर्ने उनले बताए ।
नेपालकै पहिलो र एकमात्र क्रुजसिप रहेको यस ठाँउ घुम्नको लागि राम्रो भएको र क्रुज चढ्न मन लागेर आएको बताउँदै भरतपुर–४ की रेनु देवकोटा र भरतपुर–१४ का अरुण आचार्यले परिवार सँगै आएर सयर गर्दा निकै रमाइलो लागेको प्रतिक्रिया दिए । यसले जिल्लाको पर्यटकलाई निकै टेवा पुग्ने भन्दै उनीहरुले अरु व्यक्तिहरुलाई पनि एक पटक आएर क्रुज सयर गर्न सल्लाह दिए ।विसं २०७९ माघ १ गतेदेखि सञ्चालनमा आएको क्रुजसिप नेपालकै पहिलो र एकमात्र क्रुजसिप हो । क्रुजसिप सञ्चालन भएकै वर्ष नेपालको पूर्वदेखि पश्चिमसम्मका यात्रुले सेवा लिएका छन् । दुई तला र एउटा ३६० डिग्री अवलोकन स्थल रहेको क्रुजको पहिलो तल्लामा कार्यक्रम गर्ने मञ्चसहितको ६० जना क्षमता रहेको छ । क्रुजको दोस्रो तल्लामा ८० जना क्षमता तथा ३६० डिग्री अवलोकन स्थलमा १० जना अटाउने क्षमता रहेको छ । क्रुजसिप सञ्चालनका लागि कम्पनीले पवित्र धार्मिकस्थल देवघाटबाट गोलाघाटसम्मको अनुमति पाएको भए पनि अहिले एकतर्फी एक किलोमिटर मात्रै सञ्चालन हुँदै आएको छ । क्रुजसिप सञ्चालनपछि नवलपुर र चितवनको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुगेको पर्यटन व्यवसायीहरुले बताउँदै आएका छन् ।