बन्दिपुर, माघ ८
बन्दिपुर गाउँपालिकाले बन्दिपुर बजार अन्तर्गत रहेका होटल, रेष्टुरेन्टहरु तथा होमस्टेहरुको अगाडि गाउँपालिकाले तोकेको मापदण्ड भित्र राखिएका टेवल कुर्चिमा बसेर धुम्रपान, मद्यपान तथा अन्य लागुपदार्थहरु प्रयोग नगर्न अनुरोध गरेको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले सोमबार अपिल प्रकाशन गरि बजार क्षेत्रमा अनावश्यक होहल्ला हुने गरि नाचगान तथा म्युजिक सिस्टम सन्चालन नगर्न पनि अनुरोध गरेका छन् ।



गाउँपालिका क्षेत्रभित्र कुनैपनि व्यवसाय सन्चालन गर्दा गाउँपालिका तथा अन्य सम्बद्ध निकायहरुमा दर्ता गरेर मात्र सन्चालन गर्न, गाउँपालिका तथा अन्य निकायबाट जारी भएका व्यबसाय दर्ता प्रमाणपत्र सबैले देख्ने गरि पसलमा राख्न तथा ग्राहकहरुले प्रष्ट देख्ने ठाउँमा दैनिक उपभोग्य खाद्य पदार्थहरुको मूल्यसूची अनिवार्य राख्न गाउँपालिकाले अनुरोध गरेको छ ।
त्यसैगरि अखाद्य रंगहरु मिसावट गरिएका तथा म्याद सकिएका खाद्य पदार्थहरु विक्रि वितरण नगर्न, प्याकेटमा राखिएका खाद्य पदार्थहरु भए उत्पादन गर्ने कम्पनीको नाम, छाप, उत्पादन भएको मिति, म्याद सकिने मिति स्पष्ट बुझिने गरी लेखिएको खाद्य सामाग्रीहरु मात्र बेचविखन गर्न तथा खरिद विक्रि गरिएका मालसामानहरुको अनिवार्य रुपमा विल लिने दिने गर्न पनि अनुरोध गरेको छ ।
यसैगरि सवारी तथा पैदल यात्रीहरुको आवागमनमा बाधा पर्ने गरी गाउँपालिकाले तोकेको मापदण्ड विपरित कुनैपनि मालसामान तथा होटल रेष्टुरेन्टहरुको टेबल कुर्चिहरु सडक नराख्न, व्यवसायहरुको होडिङ बोर्ड जथाभावि रुपमा एक भन्दा बढी नराख्न, गाउँपालिकाले तोकेको स्थानहरुमा बाहेक अनावश्यक रुपमा सडक किनारामा सवारी पार्किङ नगर्न पनि सर्वसाधरणमा अनुरोध गरेको छ ।
आफ्नो व्यवसाय स्थल नियमित सफा राख्न तथा व्यबसाय स्थल आकर्षक बनाउन, आफ्नो व्यवसायबाट निस्किएको फोहरहरु स्रोतमा नै वर्गिकरण गरि फोहरको उचित व्यवस्थापनमा सहयोग गर्न खाद्य पदार्थहरुको शुद्धतामा मानव स्वास्थ्य जोडिएको हुने हुँला यसैले उपभोक्ताको हितको ख्याल गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।
बन्दिपुर गाउँपालिकाबाट बजार अनुगमन गर्न आउने टोली व्यापारीको सहयोगी भएको र कुनैपनि बेला हुन सक्ने बजार अनुगमनलाई सहयोग गरी दिईएको निर्देशनहरुको पालना गर्न पनि गाउँपालिकाले अनुरोध गरेको छ ।
गाउँपालिकाले जारी गरेको यि बुँदाहरुलाई पालना गरी गाउँपालिकालाई सहयोग पु¥याउनुहुन सम्पूर्ण बन्दिपुरवासीहरुमा अनुरोध गर्दै अध्यक्ष थापाले यदि गाउँपालिकाको अनुरोधलाई वेवास्ता गरि उल्लेखित विषयहरुको उल्लंघन भएको पाईएमा कानुन बमोजिम कार्बाही गरिने पनि जनाएका छन् ।